
पूर्णपुष्टि, कात्तिक २३
कञ्चनपुरमा हतियार देखाएर जुवा खालबाट रकम लुट्ने तीन जना पक्राउ परेका छन् । बुधबार बिहान खेतमा जुवा खेलिरहेका व्यक्तिहरुलाई अत्याधुनिक हतियार देखाएर तीन लाख ९५ हजार रुपैयाँ लुट्ने तीन जना पक्राउ परेको हो ।
वेदकोट नगरपालिका–१ पिपलथलाका केदार विष्ट, २ नम्बर वडाका वसन्थलाका २२ वर्षीय पारसमणि जोशी र कृष्णपुर नगरपालिका–५ का २६ वर्षीय दीपक भट्ट पक्राउ परेको प्रहरीले जनाएको छ । उनीहरुलाई प्रहरीले बुधबार बेलुका एक थान सेमी अटोमेटिक पेस्तोल र म्याग्जिनसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
सात/आठ जनाको समूहमा आएका व्यक्तिहरुले वेदकोट नगरपालिका–५ पोलखरी बस्ने ५२ वर्षीय पुष्कर बोहराको घर नजिकै खेतमा तास खेलिरहेका व्यक्तिहरुबाट तीन लाख ९५ हजार नगद र तीन थान मोबाइल लुटेर फरार भएका थिए । रकम लुटिएको सूचनापछि घटनाको अनुसन्धानका लागि खटिएको जिल्ला प्रहरी कार्यालय र अस्थायी प्रहरी पोष्ट दैजीको संयुक्त टोलीले घटनामा संलग्नहरुलाई हतियारसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले तास खेलिरहेको खेतबाट समेत एक थान म्याग्जिन र दुई राउण्ड गोली फेला पारेको थियो । त्यस्तै त्यो घटनामा प्रयोग भएको से ६ प २२६३ नम्बरको मोटरसाइकल र दुई थान मोबाइलसमेत बरामद भएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
