
पूर्णपुष्टि, असोज २२
खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले नागरिकलाई आफ्नै गाउँ–ठाउँमा पुगेर सेवा सुविधा उपलब्ध गराउने लक्ष्यका एकीकृत सेवा केन्द्र सुरु गरेको छ ।
नागरिकलाई ‘गाउँ–गाउँमा सिंहदरबार’ भन्ने नाराको अनुभूती गराउने उद्देश्यले हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारको भदौरेमा एकीकृत सेवा केन्द्र सञ्चालन गरेको हो ।
वडा कार्यालयबाट प्रवाह हुने सबै किसिमका सेवा सुविधा नागरिकको घरदैलोसम्म पुर्याउन एकीकृत सेवा केन्द्र स्थापना गरिएको नगरले जनाएको छ ।
साविकको मंगलटार ४ र ५ का १ सय ३० घर परिवारलाई लक्षित गरी नगरपालिकाले ‘घर–घरमा स्थानीय सरकार’ भन्ने नारासहित भदौरेमा एकीकृत सेवा केन्द्र सञ्चालन सुरु गरेको हो । नगरपालिका र वडा कार्यालय मंगलटारको ४ लाख ५० हजारमा दुई कोठे एकीकृत सेवा केन्द्रको भवन निर्माण गरिएको छ ।
एकीकृत सेवा केन्द्रबाट गाउँघर क्लिनिक, खोप लगायतका स्वास्थ्य सेवा समेत उपलब्ध गराइनेछ । केन्द्रबाट नागरिकका गुनासो, मुद्धा वा माग पनि संकलन गरिने छ । एकीकृत सेवा केन्द्र सञ्चालनका लागि मंगलटारकै साविकको ८ र ९ का लागि घुर्चुमा पनि भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।
मंगलटारमा गरिएको सेवा केन्द्रको अभ्यास प्रभावकारी देखिए हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा र हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवामा पनि विस्तार गर्ने लक्ष्य राखिएको नगरले जनाएको छ ।

