Monday, June 22News That Matters

हात्तीपाइले रोगविरुद्धको औषधि १२ जिल्लामा खुवाइँदै

पूर्णपुष्टि, चैत २०

आजदेखि देशका १२ जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइँदै छ । हात्तीपाइले रोग मानिसलाई शारीरिक रुपमा अशक्त तथा अपाङ्ग बनाउने सरुवा रोग हो ।

यसविरुद्ध हरेक वर्ष अभियान नै चलाए पनि नियन्त्रण हुन सकेको छैन । हात्तीपाइले विरुद्धको औषधिले केहीलाई रिँगटा लाग्ने, ज्वरो आउने र वाकवाकी लाग्ने जस्ता लक्षण देखिए पनि केही समयपछि यो समस्या हट्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
दुई वर्ष उमेर नपुगेका बालबालिका, गर्भवती र सात दिनसम्मका सुत्केरी तथा सिकिस्त बिरामी, कडा रोगको लागि औषधि खाइरहेका व्यक्ति र कडा कुपोषण भएका पाँच वर्षमुनिका बालबालिकालाई भने यो औषधि खुवाउन हुँदैन ।

हात्तीपाइले रोग सङ्क्रमित पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ । शरीरमा यसको परजीवी प्रवेश गरेको केही वर्षपछि मात्र रोगका लक्षणहरु देखिन्छन् । लक्षण देखिसकेपछि भने यो रोग निको पार्न सकिँदैन ।

नेपालमा अझै पनि झण्डै ३० हजार जना हात्तीपाइलेका बिरामी रहेका सरकारी अनुमानित तथ्याङ्क छ ।