
बैशाख ९
नेपालको व्यापार घाटा १० महिनामै १० खर्ब रुपैयाँ नाघेको छ ।
चालुआर्थीक वर्षको साउनदेखि चैत महिनासम्म १० खर्ब १६ अर्ब रुपैयाँको व्यापार घाटा भएको भन्सार विभागले जनाएको छ । यो अघिल्लो वर्षको यसै अवधिको तुलनामा १२.४९ प्रतिशतले धेरै हो ।
दश महिनामा नेपालले ९४ अर्ब ७६ करोड रुपैयाँको वस्तु तथा सेवा निर्यात गरेको छ भने ११ खर्ब ११ अर्ब ३९ करोड रुपैयाँको आयात गरेको छ ।
आयात अघिल्लो वर्षको १० महिनाको तुलनामा १३.१२ प्रतिशतले बढेको छ । भारतसँग मात्रै नेपालको ६ खर्ब ५६ अर्ब रुपैयाँको व्यापार घाटा रहेको छ । १० महिनामा नेपालले भारतमा ६८ अर्ब रुपैयाँको वस्तु तथा सेवा निर्यात गरेकोमा सात खर्ब २४ अर्ब रुपैयाँको आयात गरेको छ । यस्तै चीनसँग एक खर्ब ६३ अर्ब रुपैयाँको व्यापार घाटा रहेको छ ।
दश महिनामा नेपालले खाद्यान्न मात्रै ५९ अर्ब ७३ करोड रुपैयाँको आयात गरेको छ । २८ अर्ब रुपैयाँको फलफूल र तरकारी आयात भएको छ । झण्डै डेढ खर्ब रुपैयाँको पेट्रोलियम पदार्थ, एक खर्ब रुपैयाँको फलाम, ७३ अर्ब रुपैयाँका गाडी र २३ अर्ब रुपैयाँको औषधि भित्रिएको छ ।
सरकारले हरेक वर्ष नीति तथा कार्यक्रम र बजेटमा देशमै उत्पादन हुने वस्तुको उत्पादन बढाएर आयात प्रतिस्थापन गर्ने र निर्यात बढाउने योजना बनाए पनि त्यस्ता योजना नारामै सीमित भएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ ।
