Tuesday, April 21News That Matters

११ हजार भोल्टको करेन्ट लाग्दा एकको मृत्यु, एक जना घाइते

पूर्णपुष्टि, असोज ३० गते ।
११ हजार भोल्टको करेन्ट लाग्दा मोरङको कटहरी गाउँपालिका–४ मा शनिबार अरान्ह एक जनाको ज्यान गएको छ । अर्का एक जना भने गम्भीर घाइते भएका छन । हाइटेन्सन लाइनबाट करेन्ट लागेर सोही स्थानका ५२ वर्षीय दिलिप साहको ज्यान गएको हो ।
दुर्गा मन्दिरमा लगाएको टेन्ट खोल्ने क्रममा साहलाई ११ हजार भोल्टको हाइटेन्सन लाइनबाट करेन्ट लागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय मोरङकका प्रवक्ता डीएसपी टीकाबहादुर कार्कीले बताए ।
गम्भीर घाइते अवस्थामा उद्धार गरेर उपचारका लागि कोसी अस्पताल ल्याइएका साहलाई अपरान्ह ५ बजेतिर चिकित्सकले मृत घोषित गरेका हुन् ।
करेन्ट लागेर छटपटाइरहेको देखेपछि साहलाई उद्धार गर्न गएका अर्का व्यक्ति घाइते भएका छन् । करेन्ट लागेर सुनसरीको इनरुवा नगरपालिका–७ का ४५ वर्षीय फागु सरदार गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार रंगेलीबाट मोटरसाइकलमा विराटनगरतर्फ आउँदै गर्दा करेन्ट लागेर साह छटपटाइरहेको देखेपछि सरदार उद्धार गर्न पुगेको पाइएको छ । त्यतिबेलै सरदारलाई पनि करेन्ट लागेको डीएसपी कार्कीले बताए ।
घाइतेको चिन्ताजनक अवस्था रहेको र कोसी अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको अनुसन्धान सुरु गरिएको जानकारी दिएको छ ।