Sunday, May 10News That Matters

१ हप्तामा क्वरेण्टीनमा बसेका ६ जनाको मृत्यु

पूर्णपुष्टि, जेठ २५ गते । 

सुदूरपश्चिम प्रदेशमा एक हप्तामा घर फर्किएर क्वरेण्टीनमा बसेका ६ जनाको मृत्यु भएको छ । सुदूरपश्चिमको ४ जिल्लामा ६ जनाको क्वरेण्टीनमा मृत्यु भएको हो ।

उनीहरुमध्ये  ३ जनाको कोरोना जाँच भएकोमा रिपोर्ट नेगेटिभ आएको छ भने ३ जनाको कोरोना परिक्षण बाँकी नै रहेको जनाईएको छ ।

आज बिहान डोटीको केआईसिंह गाउँपालिकाको १९ वर्षीय पुरुषको मृत्यु भएको छ । सिताराम आधारभुत विद्यालयको क्वरेण्टीनमा बसेका पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय डोटीले जनाएको छ । मृतकको कोरोना परीक्षणका लागि थ्रोट स्वाबको नमूना संकलन गरेर धनगढी पठाउने तयारी भइरहेको जनाइएको छ ।

यस्तै बैतडीमा पाटन नगरपालिका–६ भीमदत्त प्राविधिक शिक्षालयको क्वरेण्टीनमा बसेका ३१ वर्षका पुरुषको मृत्यु भएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । मृतकको स्वाब परिक्षणका लागि धनगढी पठाउने तयारी भईरहेको छ ।

बैतडीमा यसअघि पनि क्वरेण्टीनमा बसेका १ महिलाको मृत्यु भएको थियो । पुर्चाैँडी नगरपालिका–४ मा मंगलबार महिलाको मृत्यु भएको हो ।

बाजुराको खप्तड छेडेदह गाउँपालिका–७ मष्टा आधारभूत विद्यालयको क्वरेण्टीनमा बसेका १ वृद्धको मृत्यु भएको छ । ६५ वर्षका वृद्ध जेठ १६ गतेदेखि क्वरेण्टीनमा बसेको थियो ।

डडेल्धुरामा पनि घर फर्किएकी महिला र १ बालकको मृत्यु भएको छ । गन्यापधुरा गाउँपालिका–१ असिग्राम आधारभुत विद्यालय रौनाकोट क्वरेण्टीनमा बसेका ३० वर्षीया महिलाको मृत्यु भएको हो । तर उहाँको रिपोर्ट नेगेटिभ आएको छ ।

डडेल्धुरा बहुमुखी क्याम्पसको क्वरेण्टीनमा राखिएका ७ वर्षीय बालकको मृत्यु भएको जनाईएको छ । उनको पनि परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको छ ।

सर्वपक्षीय सहमति र विज्ञको सुझावका आधारमा शव व्यवस्थापन गरिएको प्रशासनले जनाएको छ ।