Thursday, June 18News That Matters

४ किशोर ४० दिन देखि बेपत्ता

पूर्णपुष्टि, भदौ ११

जुम्लामा ४ किशोर ४० दिन देखि सम्पर्क विहिन अवस्थामा रहेको छ । तातोपानी गाउँपालिका– ७ सुर्की गाउँ जुम्ला निवासी गोविन्द रावतका १६ वर्षीय छोरा पद्मबहादुर रावत र रामबहादुर रावतका १६ वर्षीय छोरा भीमबहादुर रावत, मुनबहादुर रावतका १७ वर्षीय छोरा तुल रावत र देविभक्त रावतका १७ वर्षीय छोरा कालीबहादुर रावत ४० दिनदेखि सम्पर्कमा नआएको सोही गाउँका स्थानीय युवा राजु रावतले जानकारी दिए ।

उनिहरु गत साउन १ गते बेलुकीदेखि घर फर्केका छैनन् । तुल रावतका बुबा गोविन्द रावतले लामो समयदेखि छोरा नआएकाले चिन्ताले सताएको दुखेसो गरे । ‘साउने सङ्क्रान्तिको बेलुकादेखि मेरो छोरोसहित चारैजना सम्पर्कविहीन छन् । घरमा आउलान् भन्दाभन्दा त महिना दिन बित्यो’, गोविन्दले भने, ‘तर पनि उनीहरु अहिलेसम्म घर फर्केका छैनन् र कहाँ छन् भन्ने पनि पत्तो छैन ।’ उनीहरु भारत कहिल्यै नगएकाले कहीँकतै बेचबिखनमा पर्ने हुन् कि भन्ने कुराले अभिभावकलाई चिन्तित बनाएको छ ।

जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रमुख जिल्ला अधिकारी विजया प्रसाईंले यस विषयमा बिहीबार मात्र सामान्य जानकारी आएकाले सघनरुपले बुझेर खोज अनुसन्धानमा लाग्ने बताइन् । कालापहाड गएको भन्ने आशङ्का गरिएकाले यसबारे सबै तहका सरकारले चासो दिनुपर्ने उनको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले आफू कहाँ त्यसबारे कुनै जानकारी नआएको बताए । प्रहरी नायब उपरीक्षक थापाले किशोरको उमेर १६÷१७ वर्ष पुगिसकेकाले उनीहरुलाई हराएको भन्न नमिल्ने तर्क गरे ।