
पूर्णपुष्टि, जेठ ३० गते ।
चार लाख भन्दा बढीले कोरोना विमा गरेका छन् । बिमा समितिले ल्याएको नयाँ योजनामा कोरोना बिमा गराउनेको संख्या ४ लाख २५ हजार ३ सय २२ पुगेको हो ।
कोरोना बिमा वापत करिब २३ करोड ३३ लाख ३८ हजार रुपैयाँ बिमा शुल्क संकलन भएको जनाएको छ ।
सामान्यतया युद्ध र महामारीको बिमा नहुने विश्वव्यापी चलन छ । यद्यपि, बिमा समितिले नयाँ अभ्यास गर्दै बिमासम्बन्धी नयाँ योजना ल्याएको थियो ।
बिमा चलिरहेको समयमा बिमा कम्पनीहरुको आग्रहमा यो योजना एक दिन बन्द भए पनि पछि फेरि नियमित गरिएको थियो । अहिलेसम्म बिमा कम्पनीले एक जनाको दावी भुक्तानी गरिसकेका छन् ।
कोभिड–१९ बिमा गराएका कृषि विकास बैंकमा कार्यरत एक कर्मचारीमा कोरोना पोजिटिभ देखिए पछि नेको इन्स्योरेन्सले उनलाई एक लाख रुपैयाँ भुक्तानी दिएको हो ।
समितिले एक हजार रुपैयाँमा एक लाख रुपैयाँको र पाँच सय रुपैयाँमा ५० हजार रुपैयाँको कोराना बिमा गर्न सकिने व्यवस्था गरेको छ ।
परिवारकै बिमा गर्ने हो भने एक लाख रुपैयाँको लागि ६ सय रुपैयाँ र ५० हजार रुपैयाँको लागि तीन सय रुपैयाँ रकम तिर्नुपर्नेछ ।
बिमाको अवधि एक वर्ष हुनेछ । बिमा गरेका कसैलाई १५ दिनपछि कोरोना (पीसीआर परीक्षण) पोजिटिभ देखिएको अवस्थामा रकम बिमांक रकम पाउनेछन् ।
