
पूर्णपुष्टि, साउन २०
गत ६ महिनामा साढे ३ सय बालबालिकामा दादुरा र रुबेला सङ्क्रमण देखिएको छ । पछिल्लो ६ महिनामा ३ सय ५४ जना बालबालिकालाई दादुरा र रुबेला संक्रमण देखिएको हो भने दुई जनाको मृत्यु भएका छन् ।
जसमध्ये ३ सय ४० जना दादुरा र १४ जनालाई रुबेला भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको बाल स्वास्थ्य महाशाखाले जनाएको छ । ६ महिनामा दादुराका कारण २ जना बालबालिकाको मृत्यु भएको जनाईएको छ ।
यो वर्ष धादिङ, गोर्खा, मकवानपुर, काठमाण्डौ, ललितपुर, सर्लाही र झापामा दादुरा धेरै पटक फैलिएको थियो । कोरोना भाइरस महामारीका कारण गरिएको लकडाउनका कारण खोप सेवा प्रभावित भएकाले दादुरा र रुबेलाको प्रकोप फैलिएको महाशाखाले जनाएको छ ।
अहिले खोप अभियान पूरा भएको र अरु खोप पनि नियमित भइसकेकाले अब बालबालिकालाई दादुरा र रुबेला कम हुने अनुमान छ । दादुरा र रुबेलाको फैलिएको जिल्लामा भने अभियानको रुपमा थप खोप कार्यक्रम पनि सञ्चालन गरिएको छ ।
अब खोप नियमित भएकाले सबै बालबालिकालाई अरु खोप जस्तै दादुरा र रुबेलाको खोप पनि अनिवार्य लगाउन महाशाखाले आग्रह गरेको छ ।
