
पूर्णपुष्टि, साउन २२
भन्सार छली गरिएको ७८ लाख बराबरको मोबाइल प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार भारतबाट भन्सार छलेर लैजादै गरेको अवस्थामा नारायणगढ–बुटवल सडकखण्ड अन्तरगत पर्ने पूर्वी नवलपरासीको दुम्किवासबाट बिहीबार राति ५ सय ९५ थान मोबाइल बरामद भएको हो ।
कारमा लैजाँदै गरेका मोबाइलसहित दुई जना व्यक्तिहरुसमेत पक्राउ परेका छन् । प्रदेश ३–०१–०२३ च ५५४४ नम्बरको कारमा लैजाँदै गरेको मोबाइलसहित भरतपुर महानगरपालिका–८ बस्ने अर्जुन ढकाल र सोही महानगरपालिका–२१ बस्ने इन्द्रलाल श्रेष्ठ पक्राउ परेको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी डिएसपी दिलिपकुमार गिरीले बताउनुभयो । बरामद भएका विभिन्न ब्राण्डका मोबाइलको मुल्य करिब ७८ लाख रहेको प्रहरीले जनाएको छ ।
नारायणगढ बजारका विभिन्न पसलमा बिक्रीका लागि मोबाइल लैजान लागेको प्रहरीले भनाई छ । पक्राउ परेका कार र व्यक्तिहरुसहित मोबाइललाई आवश्यक कारबारहीका लागि महेशपुर भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।
