पूर्णपुष्टि/मंसिर ७ गते ।
कालिकोटमा प्रहरीको गोली लागी सुक्रबार एक म्यादी प्रहरीको मृत्यु भएको छ । तलब कटाएको भन्दै म्यादी प्रहरी आन्दोलनमा उत्रिएपछि स्थिति तनावग्रस्त भएको र उग्ररुप लिएको स्थितिलाई नियन्त्रण गर्न प्रहरीले गोली चलाउदा शान्नी त्रिवेणी गाउँपालिका–५ तिकुवा निवासी १९ वर्षिय बिबेक ऐडीको मृत्यु भएको सञ्चारमाध्यमहरुले जनाएका छन् । मृतक ऐडीको टाउकोमा गोली लागेर मृत्यु भएको हो ।
आन्दोलनमा उत्रिएका म्यादी प्रहरीले ढुंगामुढा प्रहार गरेपछि प्रहरीले गोली चलाएको जनाइएको छ । जिप्रकाको गेटमा ढलेका एेडीलार्इ तत्काल कसैले उठाउने सहास नगरेको र पछि उनलाई पत्रकार नागरिक समाजका अगुवाको पहलमा जिल्ला अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको जनाइएको छ ।
जिल्ला प्रहरी कार्यालय कालीकोटले म्यादी प्रहरीलाई दिने भनिएको तलब भत्ता बापतको अन्तिम किस्तामा तीन हजार रुपैयाँ कटौती गरेको भन्दै म्यादी प्रहरी आन्दोलित भएको जनाइएको छ ।
दिउँसो १२ बजेदेखि आन्दोलित म्यादी प्रहरीको जुलुस जिल्ला प्रहरीको गेटमा पुग्दा दोहोरो झडप भएको थियो । झडपका क्रममा प्रहरी कार्यालयमा म्यादी प्रहरीले ढुंगामुढा गरेका थिए । भिड नियन्त्रण गर्न प्रहरीले दर्जनौ सेल अश्रु ग्यास प्रहार गरेको थियो ।
एक जनाको मृत्यु पछि आक्रोशित बनेका म्यादी र स्थानीयले कालीकोट सदरमुकामको प्रतिमाचोक र जिरो प्वाइन्टमा रहेको प्रहरी बिटमा आगजनी गरेका छन् । यता प्रहरीले म्यादीको पैसा जिप्रकाबाट नकाटिएको दावी गर्दै स्थितिले उग्ररुप लिएपछि बाध्य भएर गोली चलाएको जनाएको छ ।