Monday, May 18News That Matters

उदयपुरमा डेढबर्ष अवधिमा विभिन्न ७६ फरार प्रतिवादी पक्राउ

पूर्णपुष्टि,माघ २३

डेढबर्षको अवधि भित्र उदयपुरमा विभिन्न अपराधमा संलग्न ७६ फरार प्रतिवादीहरु पक्राउ परेका छन् । उनिहरु बिभिन्न अपराध लागुऔषध, जवरजस्ती करणी, जुवा खाल, वन मुद्धा, ज्यानमारा, चोरी, ठगी, सार्वजानिक अपराध, जालसाजी, कुटपिट जस्ता अपराधिक कार्यमा संलग्न भई सजाय बाट फरार रहेको अवस्थामा प्रहरीले पक्राउ गरेका छन् । पक्राउ परेको उनीहरु बिरुद्ध ५५ बर्ष कैद र ७ लाख बक्यौता समेत संकलन भएको छ ।

अदालतबाट दोषी प्रमाणित भई बिगो जरिवाना र कैद सजाय तोकिए पनि भाग्दै आएकालाई  खोजी गर्दै नियन्त्रणमा लिएर फैसला कार्यान्वयन गर्न प्रहरीले अदालतलाई सहयोग गरिरहेको हो ।

केहीबर्षअघि सरकारले  सवोच्च अदालत र प्रहरीसँगको समन्वयमा फरार अभियुक्तहरु पक्राउ गरी उनीहरुबाट बक्यौता कैद र जरिवाना असुलउपर गर्ने नीति लिएपछि प्रहरीले फरारको खोजी थालेको थियो । सोही क्रममा प्रहरीले उनीहरुको खोजी गर्दै पक्राउ गरी अदालतको जिम्मा लगाउने गरेको छ ।

प्रहरीले बर्षौँअघि बिभिन्न अपराधमा संलगन भएर अदालतबाट विगो जरिवाना र कैद सजायको फैसला भए पनि सम्पर्कमा नआई फरार रहेका अभिुक्तलाई लुकेर बसेको अवस्थामा पक्राउ गर्दै आएको छ ।

जिल्ला प्रहरी कार्यालयले गएको डेढबर्षमा ७६ जना फरार अभियुक्तलाई नियन्त्रणमा लिएर फैसला कार्यान्वयन गर्न अदालतलाई जिम्मा दिइको जनाएको छ । जस अनुसार आर्थिकवर्ष २०७६/७७ मा ५९ जना फरार अभियुक्त पक्राउ परेका छन् । उनीहरुबाट अदालतले तोकेको २५ बर्ष ४ महिना ७ दिन कैद र २ लाख ९१ हजार ९ सय ६० रुपैंया ४९ पैसा जरिवाना भुक्तानी भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी बेदप्रसाद गौतमले बताउनुभयो ।

गौतमका अनुसार चालु आर्थिकबर्ष साउनदेखि पुससम्म १७ जना फरार अभियुक्त पक्राउ परेका छन् । उनीहरुबाट २९ वर्ष ६ महिना १ दिन कैद सजायसँगै ३ लाख ८२ हजार ६ सय ७२ रुपैंया बक्यौता जरिवाना भुक्तान भएको छ । सबभन्दा बढी अपराधमा फरारहरु वन मुद्धाका पाइएको प्रहरी तथ्यांकले देखाएको छ ।

आव २०७६/७७ मा मात्र वन मुद्धाका २५ फरार अभियुक्त पक्राउ परेका छन् भने चालु बर्ष १ जना पक्राउ परेका छन् । त्यस्तै लागुऔषध अपराधमा संलग्न भईर फरार ७ जना, जवरजस्ती करणीमा ६ र जुवा अभियोगमा ६ अभियुक्त पक्राउ परेका छन् । चोरी अभियुक्त ५ र ज्यान मार्ने अभियोगमा ४ जना पक्राउ पर्दा बाँकी फरार अभियुक्तहरु केही सार्वजनिक अपराध, जालसाजी, ठगी, सार्वजनिक अपराध, कुटपिटलगायत मुद्धाका पक्राउ परेको प्रहरी तथ्यांकले देखाएको छ ।

जिल्ला प्रहरी प्रमुख एसपी भीम दाहालले विगत ३ दशकअघिसम्मका फरार अभियुक्तहरु पक्राउ पर्ने गरेको बताउनुभयो । २०४८ साल भदौ १८ गते अदालतले दोषी करार गरे पनि फरार रहेका अभियुक्तसमेत भर्खर पक्राउ परेको एसपी दाहालले बताउनुभयो ।

वर्षौंदेखि आपराधिक गतिबिधिमा संलग्न भई अदालतबाट सजायको फैसला हुने गरे पनि हजारौं फरार सूचीमा रहेको र करोडौ जरिवाना रकम र हजारौं बर्ष कैद सजाय बक्यौता देखिएपछि केहीवर्षअघि गृह र कानुन मन्त्रालयले बक्यौता असुलउपर गर्ने नीति लिएको थियो । सोही अनुसार फरारको खोजी तीब्र गरी पक्राउ गर्न सर्वाेच्च अदालतमार्फत जिल्ला अदालत, प्रशासन र प्रहरीमा निर्देशन आएको थियो ।

सो अनुसार फरार अभियुक्तहरुको पुरानो फाईल पल्टाएर खोजी कार्य प्रहरीले थालेपछि पक्राउ पर्ने क्रम जारी रहेको छ । फरारलाई पक्राउ गरेलगत्तै प्रहरीले कैद र विगो असुलउपर गर्न गराउन अदालतमा बुझाउने गरेको एसपी दाहालले बताउनुभयो ।