Tuesday, March 25News That Matters

मृगौला पिडितलाई यातायात व्यावसायीको सहयोग

सिंह चाम्लिङ राई
उदयपुर, कात्तिक २८

उदयपुरको एक मृगौला पिडित कृष्ण मगरातीलाई यातायात व्यावसायी केन्द्रले सहयोग गरेको छ । त्रियुगा नगरपालिका वडा नं १० बोक्से निबासी मगरातीलाई उदयपुर हिमाली यातायात व्यावसायी केन्द्रले बुधबार २५ हजार सहयोग गरेको हो । उनको दुबै मृगौला काम नलाग्ने भएको छ ।

केन्द्र मार्फत चल्ने सल्ले–भुट्टार र फोक्सिन्टार–रसुवा रुटको २५ वटा बसले संयुक्त रुपमा २५ हजार मगरातीलाई सहयोग गरेको हो । मानवीय धर्म र यातायात मजदुर रहेकोले प्रत्येक गाडीबाट सहयोग संकलन गरि सहयोग गरेको उदयपुर यातायात व्यावसायी केन्द्र दुर्घटनाबारे हेर्ने समितिका सह संयोजक मेम विकले बताए ।

काठमाण्डौ र विराटनगरमा डाईलासिस् गर्दै आएका मगरातीले मृगौला प्रत्यरोपन गर्न १३ लाख खर्च हुने बताए । मगरातीले भने डाईलासिस् गराउन त धौधौ भएको बेला कहाबाट १३ लाख ल्याउ ? घरको आर्थिक स्थिती नाजुक भएकोले सहयोगी हातहरुको आशमा सास रहेको मगरातीले बताए ।

यसअघि पनि केन्द्रले २० हजार सहयोग गरेको थियो भने यस पटक गाडी धनीहरुको सहयोग रहेको विकले बताए । उनकी श्रीमतिको मृगौला दिनलाई ९० दिन परिक्षण गर्नु पर्नेमा आधा चेक जाँच भईसकेको तर पैसा नभएको मगरातीले बताए । विरामी मगरातीले गाडीमा सहचालकको रुपमा काम गरेरै घरपरिवार चलाउदै आएका थिए ।