Tuesday, June 9News That Matters

“मेरो माया” म्यूजिक भिडियोसहित गायनमा दिपनको उदय

पूर्णपुष्टि, वैशाख ३० । 

विद्यालय पढ्दादेखि नै गायन भनेपछि मरिमेट्थे दिपन राई । विद्यालयमा शिक्षक, शिक्षिका र साथीहरुले गाउन भन्ने वित्तिकै गाएर सुनाइ हाल्थे । सानैदेखिको मिठो स्वर र गायनशैली राम्रो थियो । गायनकै कारण शिक्षक, शिक्षिकाको प्रिय थिए उनी भने दुईचार जना झुम्मिरहने साथीहरुको खाँचाे हुन्थेन । सुमधुर गायन र मिलनसार स्वभावका कारण थुप्रै साथीहरु हुन्थे । खोटाङ जिल्लामा जन्मिएर उदयपुरको सदरमुकाम गाईघाटमा हुर्के, बढेसंगै पढेका हुन उनी । त्रियुगा माध्यामिक विद्यालयमा पढ्दा उनी विद्यालय मात्र नभई जिल्लामै परिचित थिए । विभिन्न सांगीतिक कार्यक्रमहरुमा गायन प्रस्तुती पस्किहाल्ने गरेकाले उनी धेरैबीच चिनिएका थिए । उनकाे पारिवारिक वातावरणमा पनि सांगितिक माहाैल थियाे । काका किसान राइ लगायत परिवारजन, आफन्त तथा साथीभाइहरूकाे प्रेरणा र हाैसला उनमा छन् । 

गीत गाउनु उनको सोख थियो । गीत/संगीत जिन्दगीको मेरो लक्ष हो भनेर उनी भन्ने गर्थे । अर्थात गीत/संगीत भनेपछि हुरुक्कै हुने उनी बीचमा लामो समय हराए । परिस्थितिवस् लामो समय गीत/संगीतको क्षेत्रबाट ओझेलमा परेका उनी अहिले भने उदाएका छन् । एउटा “मेरो माया” बोलको आधुनिक गीतका साथ उदाएका छन् उनी । दर्शकहरु माझ फराकिलो ढंगले आफ्नाे स्वरमा सजिएको गीत लिएर आएका छन् । रमेश सम्बेदुको लिरिक्स र कन्काइस्ट राईको संगीत रहेको उनको गीत म्यूजिक भिडियोसहित आएको छ । भिडियोमा उनी आफैले मोडलिङ गरेका छन् ।

उनको “मेरो माया” म्युजिक भिडियो गायक तथा संगीतकार कन्काइस्ट राईको अफिसियल युट्युव च्यानलबाट सार्बजनिक गरिएको छ ।

सांगीतिक क्षेत्रमा भएको उनको यो उपस्थितिले दर्शकहरुलाई थप मिठा सांगीतिक कोशेली पाउने आशा जनाएको छ भने उनलाई सांगितिक उत्साह र हौसला मिलेको छ ।