
१.
उदयपुरमा आज १४ जना कोरोना संक्रमित थपिएका छन् । ७० जनाको परिक्षण गर्दा ८ महिला र ६ पुरुषलाई कोरोना पुष्टि भएको हो । थपिएका संक्रमितहरु सबै त्रियुगाका हुन् । योसंगै उदयपुरमा सक्रिय संक्रमितको संख्या १ हजार १४५ रहेको छ । संक्रमितहरु मध्ये १ हजार ८५ जनाको होम आइसोलेशनमा र ८७ जनाको संस्थागत आइसोलेशना उपचार भइरहेको छ ।
२
उदयपुरमा आज १३ जनाले कोरोनालाई पराजित गरी निको भएका छन् । निको हुनेमा त्रियुगाको ६, चौदण्डीगढीको र लिम्चुङबुङको ६ जना हुन् । योसंगै जिल्लामा निको हुनेको कुल संख्या ४०५ पुगेको छ ।
३
जिल्लामा मृत्यु हुनेको संख्या आज पनि थपिएन । उदयपुरमा १५ महिला र ३१ पुरुष गरी ४६ जनाको मृत्यु भइसकेको छ । मृत्युहुनेमा त्रियुगाका २४, चौदण्डीगढीका ९, कटारी र बेलकाका ४÷४ रहेका छन् । त्यस्तै उदयपुरगढीका ३, रौतामाईको १ र लिम्चुङबुङको १ जना हो । ताप्ली गाउँपालिकाम मृत्यु छैन ।
४
पछिल्लो समय उदयपुरमा संक्रमण दर घट्दो छ । परिक्षण संख्याको दाँजोमा संक्रमित देखिनेको संख्या क्रमशः घट्दै गएको हो । परिक्षण संख्याको ५० प्रतिशत भन्दा बढि संक्रमित भेटिने गरेकोमा हाल २० प्रतिशतसम्म झरेको छ । दुईहप्ता अघिसम्मको अवस्था संक्रमणको उच्चस्थिति थियो । हाल क्रमश घट्दै आएको छ ।
गत जेठ १२ गते २८४ जनाको परिक्षणमा १३८ जना संक्रमित देखिएको थियो । क्रमशः संक्रमण दर घट्दै जाँदा आज ७० जनाको परिक्षणमा १४ जनामात्र संक्रमित देखिएको हो ।
हाल चौथोपटक थपिएको निशेधाज्ञ जिल्लामा छ । वैसाख २५ बाट सुरु निशेधाज्ञ ७ दिनका दरले थप हुदै जाँदा आगामी २८ गते राती १२ बजे चौथो पटकको सकिन्छ । तेस्रो पटकसम्मको थप निशेधाज्ञमा संक्रमण दर उच्च रहेकोमा चौथो पटकदेखि घट्दो देखिएको हो ।
कोरोना नियन्त्रणको एउटा उपाय निशेधाज्ञ गरेर मानवीय चहलपहल तथा आवतजावत रोक्नु नै हो । प्रशासनले निशेधाज्ञ जारी गरी संक्रमणलाई चेनब्रेक गर्ने खोजेको हो । यहि हिसावले संक्रमण घट्दै गएमा चेनब्रेक हुन सक्ने देखिएको छ ।
५
रौतामाई गाउँपालिकाको सबैभन्दा जोखिम ठाउँ मानिएको मुर्कुचीमा पछिल्लो समय सुखद अवस्था देखिदै गएको छ । हिजो मुर्कुची बजारक्षेत्रमा ४९ जनाको एन्टिजेन परिक्षण गरिदा सबैको नेगेटिभ रिपोर्ट आएको गाउँपालिका अध्यक्ष गजेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।
कोरोनाका कारण एकै परिवारको तीन सदस्यको मृत्यु भएपछि मुर्कुची बजार क्षेत्र कोरोना संक्रमण जोखिम क्षेत्रको रुपमा हेरिएको थियो । मृतक परिवारको अन्य सदस्यहरु, आफन्त, छरछिमेक र मरौपरौमा सरसहयोगमा खटिएका, विरामीको रेखदेखमा खटिएका सबैलाई समेटेर ४९ जनाको परिक्षण गरिएकोमा सबै नेगेटिभ आएको हो । यस रिपोर्टले क्रमश संक्रमण घट्दै गएको देखाएको छ ।
६
उदयपुरमा हिजोदेखि ६२ देखि ६४ वर्ष उमेर समुहका बृद्धबृद्धाहरुलाई पहिलोचरणको खोप लगाइदैछ ।
स्वास्थ्य कार्यालय उदयपुरका सुचना अधिकारी एवम् खोप सुपरभाइजर चिरन्जीवि निरौलाका अनुसार पहिलो चरणको कोभिड १९ विरुद्धको चाइनिज भ्याक्सिन भेरोसिल जिल्लाको आठै पालिकामा हिजो देखि ३० गतेसम्ममा लगाइदैछ ।
उदयपुरगढी गाउँपालिका, नगरअस्पताल बेल्टार, नगर अस्पताल रामपुरमा हिजो सुरु भइ आज सकिएको छ । कटारी अस्पतालमा आज र भोली, ताप्ली गाउँपालिकामा २७ र २८ गते, रौतामाई गाउँपालिका र लिम्चुङबुङ गाउँपालिकामा २८ र २९ गते तोकिएको छ । जिल्ला स्पताल उदयपुरमा भने २७, २८, २९ र ३० गते लगाइनेछ । खोप लिन जाँदा नागरिकता वा अनिवार्य उमेर खुल्ने कागजात लिएर जानुपर्ने जनाइएको छ ।
५
नेपालमा आज ५ हजार ७६८ जना कोरोना संक्रमित निको भएका छन् । योसंगै नेपालमा निको हुनेको संख्या ५ लाख १० हजार २९८ पुगेको छ
नेपालमा आज ३ हजार ४४९ जना संक्रमित थपिएका छन् । योसंगै संंक्रमितको कुल संख्या ६ लाख १५ हजार ६५२ भएको छ । आज ८१ जनाको मृत्यु भएको छ । योसंगै नेपालमा मृत्यु हुनेको कुलसंख्या ८ हजार १७९ पुगेको छ ।
नेपालमा सक्रिय संक्रमितको संख्या ८० हजार ३३६ रहेको छ । आज पनि संक्रमित भन्दा निको हुनेको संख्या बढी छ । सक्रिय संक्रमितको संख्या निरन्तर घटिरहेको छ ।
६
विश्वमा कोरोना संक्रमितको संख्या १७ करोड ४८ लाख ०९ हजार ३३७ पुगेको छ । निको हुनेको संख्या १५ करोड ८२ लाख ३२ हजार ०६० पुगेको छ । मृत्यु हुनेको संख्या ३७ लाख ६४ हजार ३१३ पुगेको छ । विश्वमा सक्रिय संक्रमितको संख्या १ करोड २८ लाख, १२ हजार ९६४ रहेको छ । विश्वको सक्रिय संक्रमितको संख्या पनि क्रमश घट्दो रहेको छ ।
७
त्रियुगा नगरपालिकाले पालिका क्षेत्र अन्तर्गतका स्वास्थ्य तथा आधारभुत स्वास्थ्य चौकीहरुमा ४५ वटा आइसोलेशन वेड तयार पारेको छ ।
पालिकाका सहायक स्वास्थ्य इन्चार्ज अवधनारायण चौधरीका अनुसार नगरपालिकाको ८ ठाउँगरी ४५ वटा आइसोलेशन बेड तयार भएको हो । स्वास्थ्य चौकी देउरीमा १० वटा र त्यस बाहेक सबैमा ५ वटाका दरले आइसोलेशन बेड तयार छन् । अन्यमा भुमरसुवा (चुहाडे), जोगिदह, साउने, खाँबु, सुकौरा, खैजनपुर स्थित स्वास्थ्य चौकीहरुमा बेड तयार छन् । त्यस्तै आधारभुत स्वास्थ्यचौकी बहेडुवामा पनि तयार रहेको छ । नगरपालिकाले सबै पडामा आइसोलेशन निर्माण गर्ने लक्ष अनुरुप निर्माण हुदै गरेको हो ।
पालिकाले हालसम्म १६ वटै वडाहरुलाई समेटेर ९०९ जनाको एन्टिजेन परिक्षण गरेको छ । संक्रमितलाई प्राथमिक उपचारका लागि घरमै औषधि र स्वास्थ्य सामग्री पुर्याउने, कोरोना संक्रमितलाई उपचारका लागि एम्बुलेन्स सेवा उपलब्ध गराउने र कोरोनाले मृत्यु भएकाको परिवारको ठेगानासम्म शब ल्याइदिने सेवा नगरपालिकाले दिइरहेको छ ।
नगरपालिकाले कोरोना सम्बन्धीको स्वास्थय समस्यामा सहयोगका लागि सम्पर्क ब्यक्ति अवधनारायण चौधरीलाई तोकेको छ । चौधरीको नम्बर ९८५२८३५३७७ रहेको छ ।
८
यसैबीच त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले वडा नं. १४ र १५ मा बनेको आइसोलेशनको आज निरिक्षण गरेका छन् ।
उनले वडा नं. १४ साउने र वडा नं. १५ खाँबुको स्वास्थय चौकीमा बनेको आइसोलेशनको निरिक्षण गरेका हुन् । मेयरसंगै जिल्ला स्वास्थ्य प्रमुख मोहन सुवेदीसमेतले आइसोलेशनको निरिक्षण गरेका छन् ।
९
गाईघाटको २०५१ सालको एसएलसी ब्याजीले कोरोना महामारीमा मानवीय सहयोग गरेको छ । ब्याजीले आज उदयपुर कोभिड अस्पताल बेल्टारलाई २० हजार रुपैया बराबरको खाद्यन्न लगायतको पोशिलो खानेकुरा सहयोग गरेको छ । ब्याजी समुहको एकटोलीले जिल्लामा सबैभन्दा बढि संक्रमितको उपचार हुने सो अस्पतालमा पुगेर सहयोग प्रदान गरेको टोली सदस्य किसन राईले जानकारी दिएका छन् ।
सो ब्याजीले उदयपुरबासीलाई अक्सिजनको अभाव नहुने वातावरण सुनिश्चित होस् भन्दै बेलका नगरपालिकामा निर्माण हुने अक्शिजन प्लान्टको लागि ३२ हजार ५१ रुपैया आर्थिक सहयोग गरेको छ । टोलीले पालिकाका मेयर दुर्गा थापालाई चेक हस्तान्तरण गरेको जनाइएको छ । टोलीले भोली मदनभण्डारी आँखा अस्पतालको कोरोना अस्पताललाई पनि खाद्यन्न सहयोग गर्ने जनाएको छ ।
१०
यसैबीच अक्सिजन प्लान्ट निर्माणका लागि आर्थिक सहयोग जुटरहेको छ । उदयपुरगढी ८ नेपालटारबासी अभयस खतिवडाले जेठ २६ गते जन्मदिनको अवसरमा आमा तारा खटिवडा लुइटेल र बुवा माधव खतिवडासमेतगरी १० हजार एक रुपैया प्रदान गरेका छन् । त्यस्तै त्रिनपा ११ गाईघाटकी समाजसेवी निरा राई (नाना) ले ५ हजार प्रदान गर्नु भएको छ । त्रिनपा ११ कै भवानी रेग्मी थापाले ११ हजार १११ रुपैया प्रदान गर्नुभएको छ ।
११
तुलसी वहुमुखी सहकारी र गार्डेन मार्ट डिपार्टमेन्ट स्टोरले ड्युटीका सुरक्षाकर्मीहरुलाई खाजा र पानी वितरण गरेको छ । नगरक्षेत्रमा खटेका सुरक्षाकर्मीहरुलाई खाजा र पानी वितरण गरेको हो ।
