
जिल्ला अस्पताल उदयपुरका डाक्टर मनाेज सुवेदीसंगकाे विशेष संवादसहित काेराेना खबर अपडेट, २०७८ जेठ ६ गते ।
जिल्ला प्रशासन कार्यालय उदयपुरले उदयपुरमा निशेधाज्ञलाई थप कडाइ गर्ने जनाएको छ । आज जिल्ला विपद् ब्यवस्थापन समिति तथा कोरोना संकट ब्यवस्थापन समितिको बैंठकले जिल्लालाई निशेधाज्ञ कडा बनाउने गरी निर्णय गरेको प्रशासन स्रोतले जनाएको छ । विविध निर्णयहरुसहित आजै निशेधाज्ञ जारी गर्ने जनाइएको छ । खासगरी सबै क्षेत्रलाई ठप्प बनाई हाल विहान ६ देखि १० बजेसम्म सञ्चालन भइरहेको खाद्यन्न पसलहरुलाई अवदेखि विहान ७ देखि ९ बजेसम्म मात्र सञ्चालन गर्ने निर्णय भएको जनाइएको छ ।
उदयपुरमा संक्रमितको संख्याले ५ सय नाघेको छ । उदयपुरमा पछिल्लो २४ घण्टामा थप ४१ जनामा कोराना भाइरस संक्रमण पुष्टि भएसंगै संक्रमितको संख्याले पाँचसय अंक नाघेको हो । ८७ जनामा कोरोना परिक्षण गर्दा १३ महिला र २८ पुरुष गरी ४१ जना संक्रमित पुष्टि भएका हुन् । यो संगै जिल्लामा संक्रमितको संख्या ५ सय ९ पुगेको छ । जसमा २९६ पुरुष र २१३ महिला छन् ।
आजसम्म कोरोना जितेर घर फर्किनेको संख्या ३८ पुगेको छ । पछिल्लो २४ घण्टामा उदयपुरमा निको हुनेको संख्या ८ जना हो ।
संक्रमित मध्ये सबैभन्दा बढि त्रियुगा नगरपालिकाका छन् । त्रियुगामा २५९ जना संक्रमित हुन् ।
गएराती गाइघाट स्थित मदनभण्डारी आँखा अस्पतालको आइसोलेशनमा बसेका एक कोरोना संक्रमितको मृत्यु भयो । मृत्यु हुने त्रियुगा नगरपालिका ४ का स्थानीयबासी हुन् । मृतक ४६ वर्षिय पुरूष हुन् ।
दमको विरामी रहेका उनलाइ कोरोनाको लक्षण देखिए पछि गत ३ गते एन्टिजेन परिक्षण गरिदा कोरोना पोजेटिभ देखाएको थियो । ४ गतेदेखि आखा अस्पतालको आसुलेशनमा बसेका उनलाइ आज बेलुका स्वास्थ्यमा समस्या आइ मृत्यु भएको सुरक्षाा स्रोतले जनाएको छ ।
उनको आफन्तलै आजै राती त्रियुगामा दाहसंस्कार गरेको जनाइएको छ । यसअघि बेल्टारस्थित कोरोना अस्पतालमा १ जना र जिल्ला अस्पतालमा १ जनाको कोरोनाको कारण मृत्यु भएको थियो । तीनजना जिल्लाभित्रकै स्वास्थ्य संस्थामा मृत्यु हुने कोरोना संक्रमितहरू हुन् ।
त्यसैगरी त्रिनपा ३ का ४२ वर्षिय पुरूषको हेटौंडामा मृत्यु भएको छ । गत ३ गते भरतपुर क्यान्सर अस्पतालमा परिक्षण गरिदा कोरोना पोजेटिभ पुष्टि भएकोमा आज मृत्यु भएको सुरक्षा स्रोतले जनाएको छ । उनको शब पनि आजै ल्याएर त्रियुगामा जलाइ दाहसंस्कार गरिएको बताइएको छ । हेटौडामा उनी एक निर्माण कम्पनीमा काम गर्दथे ।
यो संगै जिल्लाका मृत्यु हुनेको संख्या १८ पुगेको छ । तीनजना जिल्लाभित्रको अस्पतालमा मृत्यु हुने छन् भने अन्य उपचारको क्रममा जिल्ला बाहिरका अस्पतालमा मृत्यु भएका हुन् ।
उदयपुरमा कोरोना संक्रमित शब ब्यवस्थापनमा चुनौती देखिएको छ । हेटौडाबाट ल्याएको एकजनाको शब त्रियुगामा गएराती राम्ररी जलाएर दाहसंस्कार हुनसक्दा शब ब्यवस्थापनमा चुनौती खड्किएको देखिएको छ ।
त्रिनपा ३ का ४२ वर्षिय पुरूषको शब आधीमात्र जलाएर छाडिएको अवस्थामा आज विहान कुकुरले खाइ हिडेको दृष्य कारुणीक बनेको छ । प्रत्यक्षदर्शीहरुका अनुसार त्रियुगा किनारमा शब आधामात्र जलेको अवस्थामा छाडिएको थियो । जलाएको वरिपरि भुस्याहा कुकुरले शब लुछाचुडी गरेको थियो ।
आफन्तले राती शब जलाउन त्रियुगा लगे पनि पर्याप्त दाउरा र जनशक्ति अभावले लास पुरा नजलाई छाडेको बुझिएको छ ।
त्रियुगा उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष रमेश रसाईलीका अनुसार यसअघि पनि एक महिलाको शब दाहसंस्कारमा त्यहाँ त्यस्तै किसिमको समस्या परेको थियो । मृतकको श्रीमान् र छोरोमात्र खटेर जलाउनु परेको थियो । कोरोना संक्रमित शब भएको कारण मलामी नपाउनुका साथै जलाउने दाउराको अभाव, सहयोग गर्नेको अभावले उनीहरुले समस्याका साथ दाहसंस्कार गरेका थिए ।
कोरोना महामारीकाबीच कटारी नगरपालिकाले वडा नं. ४ को सुकुम्बासी बस्तीमा घर भत्काएकोमा राजनीतिक दलहरुले विरोध जनाएका छन् । क्रियापुत्री बसेको घरसमेत भत्काएको भन्दै कांग्रेस, माओवादी, भाजपा लगायतका पार्टीहरुले विरोध जनाएका हुन् । उनीहरुले विज्ञप्ती नै निकालेर विरोध जनाएका हुन् । महामारीको बेला घर भत्काउन गलत भन्दै विरोध जनाएका छन् । साथै घर भत्काएपछि आन्दोलित भएका मध्ये चार जनालाई प्रहरीले पक्राउ गरेकोमा विनासर्त रिहाइको माग गरिएको छ । वार्ताबाट समस्या समाधानको गर्न भनिएको छ । सुकुम्बासी बस्तीका दुई घर भत्काएपछि आन्दोलित बनेका सर्बसाधारणहरुले पक्राउ परेकाहरु विनासर्त रिहाइका साथै पिडितलाई क्षतीपूर्तीको माग राखेका छन् । आन्दोलित बनेका उनीहरुले हिजो मेयर, उपमेयर, वडाध्यक्ष र नगरपालिकाका एक कर्मचारीको घरमा ढुंगामुढा गरेका थिए ।
हाल महामारीकाबीच कटारीमा उत्पन्न समस्या हलका लागि दुबैपक्षबीच कटारी नगरपालिका बार्ता चलिरहेको जनाइएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरले आज ४१ वटा सवारी साधनलाई निशेधाज्ञ अवज्ञा गरेकोमा कारवाही गरेको जनाएको छ । तीनसय भन्दा बढि मानिसलाई अनावश्यक हिडडुल गरेकोमा सम्झाईबुझाई गरिएको जनाएको छ । जनचेतनामुलक कार्य र माइकिङ निरन्तर रहेको जनाएको छ ।
यसैबीच उदयपुरको गाईघाटमा सडक किनारमा तरकारी विक्रि गर्न बसेकाहरुलाई आज विहान भौतिकदुरी कायम गर्न लगाउदा प्रहरीमाथि हातपात भएको छ । गाईघाटको विपि चौक आसपासमा विहान ढकीमा तरकारी राख्नेहरुको दुरी नजिक हुनुका साथै मानिसको भिड बढेको थियो । त्यसलाई बजारमा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीले भिड हटाई ब्यापारीहरुलाई भौतिक दुरीमा राख्न खोज्दा प्रहरिसंग विवाद भयो । प्रत्यक्षदर्शीहरुका अनुसार विवाद मात्र भएन प्रहरीमाथि हातपात भयो । सम्झाउन खोज्दा उल्टै प्रहरिमाथि आईलागेको नगर प्रहरीले जनाईको छ । विवाद र होहल्लाले भिडभाड झनै बढेपछि प्रहरिले संयमता अपनाई उनिहरुलाई सम्झाई बुझाई छाडेको जनाईएको छ । जिल्लामा कोरोना संक्रमण समुदायस्तरमै फैलिसकेको छ । संक्रमणको उच्च जोखिममा भौतिक दुरि कायम गर्न जरुरि छ । लापरवाहि गर्नेलाई कारवाहि गर्न जरुरि भईसकेको बुद्धिजिविहरुको भनाई छ ।
नेपाल पत्रकार महासंघ उदयपुरले कोरोना महामारीको बेला फिल्डमा खटिने पत्रकारहरुलाई स्वास्थ्य सामग्री वितरण थालेको छ ।
महासंघले विभिन्न सहयोगदाताहरुबाट प्राप्त स्वास्थ्य सामग्रीहरु मास्क, सेनिटाइजर, पन्जा वितरण थालेको हो ।
उदयपुरको बेलका नगरपालिकामै बनाउन लागिएको अक्सिजन प्लान्टका लागि सहयोगदाताहरु जुट्न थालेका छन् । अक्सिजन प्लान्ट निर्माणका लागि सहयोगदाताहरुले गक्ष अनुसार आर्थिक सहयोग गर्दै आएको पालिकाले जनाएको छ । सहयोग रकमहरु जुट्न थालेको छ । ८ पालिकाबाट संकलन हुने ६० लाखमा सहयोगदाताहरुको सहयोगको आकार हेरेर सोही अनुरुपको प्लाण्ट निर्माण गर्ने जनाइएको छ ।
त्रियुगा नगरपालिकाको राहत कोषमा पालिकाबासी सन्दीप भट्टराईले आज २ लाख ५० हजार आर्थिक सहयोग गर्नु भएको छ ।
त्रिनपा ११ निवासी भट्टराईले नगरबासीलाई कोरोना महामारीबाट बचाउन मद्दत गर्नु भएको हो । पालिकाका मेयर बलदेव चौधरीलाई चेक हस्तान्तरण गरिएको छ । पालिकाले वहाँलाई विशेष धन्यवाद ज्ञापन गर्दै अन्य सहयोगीहरुलाई पनि सहयोगको अपिल गरेको छ ।
बैदेशिक रोजगारीको शिलशिलामा रहेका लिम्चुङबुङबासीहरुले पालिकालाई सहयोग गरेको छ । ८० हजार रुपैया बराबरको एकसय थान एन्टिजेन किट सहयोग गरेका हुन् । कामको सिलसिलमा मलेसिया, साउदी, अमेरिकामा रहेका लिम्चुङबुङबासीहरुले सहयोग गरेको पालिकाले जनाएको छ ।
यसैबीच सो पालिकाले कोरोना जित्ने एउटा काईदा अपनाएको छ । लिम्चुङबुङको आईसोलेशनमा नाचगान चलिरहेको छ । कोरोना संक्रमितको मनमेरञ्जन मार्फत आत्मबल बलियो बनाउन नाचगान गरिएको हो ।
आईसुलेशन व्यवस्थापन ईन्चार्ज कर्णसेर राईका अनुसार हरेक विहान नाचगान तालिका छ । नाचगानपछि मटरको सुप खाने, बेलैमा खाना, खाजा खाने, आराम गर्ने, सरसफाईमा ध्यान दिने जस्ता कुरा हुन्छ ।
आईसुलेशनमा ८ जना रहेका छन् । जसमध्ये ४ जनालाई अक्सिजन दिने परेको र अन्यको अबस्था सामान्य रहेको जनाईएको छ ।
नेपालमा आज पनि ठुलो संख्यामा संक्रमित थपिएको छ । पछिल्लो चौबीस घण्टामा २१ हजार ६९५ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ८ हजार २८७ जनामा कोरोना संक्रमण देखिएकोछ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ६ हजार ५४३ जना सङ्क्रमित कोरोनामुक्त भएका छन् । योंसंगै नेपालमा निको हुनेको संख्या ३ लाख ६६ हजार ९४६ पुगेको छ ।
सोही अबधिमा १९० जना सङ्क्रमितको मृत्यु भएको छ । योसंगै नेपालमा मृत्यु हुनेको संख्या ५ हजार ८४७ पुगेको छ ।
विश्वमा कोरोना संक्रमितको संख्या १६ करोड ५५ लाख ९८ हजार ९२९ पुगेको छ । मृत्यु हुनेको संख्या ३४ लाख ३२ हजार ९६३ पुगेको छ । विश्वमा कोरोना जितेर निको हुनेको संख्या १४ करोड ४६ लाख ५५ हजार ८३६ पुगेको छ ।
कोरोना खबर अपडेट आजलाई यति नै, यसपछि कोरोनासंग सम्बन्धीत विशेष संवाद लिएर आउने छौं । हामीसंगै जोडिनुहोला ।
