
१.
उदयपुरमा दोस्रो लहरको कोरोना कालमा १ हजार ४३९ जनाको कारोना परिक्षण भएको छ । स्वास्थ्य कार्यालय उदयपुरका अनुसार पिसिआर र एन्टिजेनबाट परिक्षण भएको हो । जसमध्ये ६५५ जना कोरोना संक्रमित देखिएका छन् । जिल्लाको ४ गाउपालिका र ४ नगगरपालिका गरी ८ वटै पालिकाका संकास्पदहरुलाइृ परिक्षण गरिएको हो । पालिका मध्ये सबैभन्दा बढि परिक्षण त्रियुगामा गरिएको र त्रियुगामा नै बढि संक्रमित भेटिएका छन् । त्रियुगामा मात्र संक्रमित ३३९ जना हुन् । यो संख्या जिल्लाभरकै संक्रमितमा ५० प्रतिशतबढि हो । जनसंख्या, बस्ती र भुगोलको हिसावले पनि त्रियुगा सबैभन्दा ठूलो हो ।
ताप्ली गाउँपालिकामा सबैभन्दा कम २ जनाको मात्र परिक्षण भएको छ । त्यसवाहेकका अन्य नगरपालिका र गाउँपालिकाहरुमा कोरोना परिक्षणको दायरा क्रमशः बढाउदै लगेका छन् । २०६८ को जनगणना अनुसार जिल्लाको जनसंख्या ३ लाख १७ हजार ५३२ हो ।
जिल्लाको संक्रमित ६५५ मध्ये हाल सक्रिय संक्रमित ५४३ जना, निको भएका ११३ जना र मृत्यु २३ जना रहेका छन् ।
२
कोरोना संक्रमितको संख्या दिनदिनै बढ्दो छ । पछिल्लो २४ घण्टामा उदयपुरमा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विभिन्न पालिकाका ३४ जनामा परिक्षण गरिदा १४ महिला र ९ पुरुषगरी २३ जनामा संक्रमण देखिएको हो । योसंगै जिल्लामा संक्रमितको संख्या ६५५ पुगेको हो । जसमध्ये सक्रिय संक्रमित ५४३ रहेका छन् । उनीहरु मध्ये ४९३ जना होमआइसोलेशनमा छन् भने ४९ जना संस्थागत आइसोलेशनमा उपचाररत छन् । सक्रिय संक्रमितमा २४९ जना महिला र २९३ जना पुरुष छन् ।
पछिल्लो २४ घण्टामा २५ जना निको भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा संक्रमित भन्दा २ जना बढि निको भएका हुन् । निको हुनेको कुलसंख्या जिल्लामा ११३ जना पुगेको छ । निको हुने कुलसंख्यामा ४० जना महिला र ७३ जना पुरुष छन् ।
जिल्लामा मृत्यु हुनेको संख्या २३ पुगेको छ । पछिल्लो २४ घण्टामा मर्ने संख्यामा अंक थपिएको छैन । जिल्लामा ६ महिला र १७ पुरुषले कोरोनाका कारण ज्यान गुमाएका छन् ।
जिल्लाभर ३० वटा एम्बुलेन्स सन्चालनमा रहेको र १९४ वटा अक्सिजन शिलिण्डर रहेका छन् । पाँच अस्पतालमा १९४ वटा बेड रहेका छन् । जिल्लाको पाँच आइसियु र दुई भेन्टिलेटर सन्चालनमा छैनन् । जिल्लामा भेन्टिलेटर सन्चालन गर्ने दक्ष जनशक्ति अझै व्यवस्था हुन सकेको छैन ।
जिल्लामा कोरोना खोप लगाउनेको कुलसंख्या ४ हजार ५ जना हो । पहिलोचरणमा २ हजार २२४ र दोस्रो चरणमा १ हजार ७८१ ज्नाले खोप लाउने अवसर पाएका थिए । दोस्रो लहरको कोरोना महामारीमा परिरहेका नागरिकहरुमा कोरोना खोपको महत्व बढ्नुका साथै आवश्यकता महशुस भएको छ ।
यसकुरालाई मध्येनजर गर्दै जिल्लाको आठै पालिकाले १८ वर्ष माथिका सबै नागरिकहरुलाई खोप लगाउने लक्ष लिएको छ । पालिकाहरुले आगामी आर्थिकवर्षको विकास बजेटलाई खोप खरिद गर्ने निर्णय गरेका छन् । आठै पालिका सम्मिलित उदयपुर जिल्ला विकास बोर्डले पालिकास्तरबाटै खोप खरिद गरेर सम्पूर्ण जिल्लाका नागरिकलाई खोप लगाउने निर्णय गरेको हो ।
३
प्रदेश नं. १ का सबै नागरिकलाई कोरोना खोप लगाउन प्रदेश सरकारको इच्छा प्रकट गरेको छ । मुख्यमन्त्री शेरधन राईले यसका लागि प्रदेश सरकार सबै तबरले जुटेको बताउनुभयो ।
आज विराटनगरमा करुणा फाउण्डेशन नेपालले प्रदेश नं १ सरकारलाई ३० थान अक्सिजन कन्सन्ट्रेटर प्रदान गर्ने कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले संघीय सरकारसंग खोपका लागि जोडदार माग राखेको बताउनुभयो ।
प्रदेश सरकारले आगामी नीति, कार्यक्रम र बजेटमा समेत खोपलाई उच्च प्राथमिकता दिने उहाँको भनाई छ ।
उहाँले करुणा फाउण्डेशनले कोभिडको पहिलो लहरमा पनि प्रदेश सरकारलाई स्वास्थ्य सामग्री प्रदान गरेको स्मरण गर्दै धन्यवाद व्यक्त गर्नुभयो । करुणा फाउण्डेशनले संखुवासभा, भोजपुर, तेह्रथुम लगायतका ७ जिल्लाका जिल्ला अस्पताललाई ३÷३ वटा र कोशी कोभिड अस्पतालका लागि ९ वटा वितरणका लागि अक्सिजन कन्सन्ट्रेटर प्रदान गरेको जनाइएको छ ।
४
आज कटारीमा ३२ जनाको कोरोना संक्रमणको रिपोर्ट पोजेटिभ आएको छ । गत ५ गते ७५ जनाको स्वाव लिई पिसिआर प्रविधिबाट विराटनगरमा परिक्षण गरिदा आज रिपोर्ट आएको हो । रिपोर्टमा १७ महिला र १५ पुरुष गरी ३२ जनाको रिपोर्ट पोजेटिभ देखिएको हो । जसमा वडा नं. ३ को १३ जना, वडा नं. २ र ४ को ८÷८ जना र वडा नं. ५ को ३ जना रहेकोस्वास्थ्य अधिकारी सुरेश दाहालले जानकारी दिनुभयो । हाल कटारीमा सक्रिय संक्रमित ६८ जना रहेका छन् । जसमध्ये ७ जना ताराघारी आइसोलेशनमा र १ जना कटारी अस्पताल आइसोलेशनमा उपचारत छन् । अस्पतालका १ जनालाई भने अक्सिजन दिनु परेको छ । बाँकी सबैजना होम आइसोलेसनमा रहेका छन् । कटारीमा निको भएको संख्या १५ रहेको छ । आजमात्रै कटारी अस्पतालबाट ७ जना निको भइ फर्केका छन् । कटारीमा मृत्यु संख्या ३ रहेको जनाइएको छ ।
५
रौतामाई गाउँपालिकाको गाउँबाट जिल्ला अस्पताल उदयपुरमा उपचारका लागि आएका दुईजनामा कोरोना पुष्टि भएको छ । लामोसमयदेखि ज्वारो आएका उनीहरुको एन्टिजेन परिक्षण गरिदा कोराना पुष्टि भएको हो । पालिकाको वडा नं. ६ का दुई पुरुष बाबुछोरा भएको बताइएको छ ।
उनीहरुलाई अक्सिजनसमेत आवश्यक पर्नसक्ने भएकाले डाक्टरले बेल्टारस्थित उदयपुर कोरोना अस्पताल जान सल्लाह दिएको संक्रमितका आफन्तले जनाएका छन् । उतैतर्फ लैजाने तयारी रहेको उनले बताएका छन् ।
६
त्यसैगरी त्रियुगा नगरपालिकाको वडा नं. १४ साउनेमा आज ६ जनामा कोरोना पुष्टि भएको छ । १५ जनामा एन्टिजेन परिक्षण गरिएको वडासचिव रितकुमार राउतले जनाउनुभएको छ ।
७
लिम्चुङबुङ गाउँपालिकाको बराहास्थित आइशोलेशनमा आज दुईजना संक्रमित थपिएका छन् । ८ जना रहदै आएको सो आइसोलेशनमा अव १० जना पुगेका छन् । आज थपिएका दुबैजनालाई अक्सिजनमा राख्नु परेको जनाइएको छ । उनीहरुलाई खोकी, ज्वारो र स्वास फेर्न समस्या देखिएको आइशोलेसन व्यवस्थापक कर्णसेर राईले जनाउनुभएको छ ।
लिम्चुङबुङको वडा नं. ३ बाराहा बाहेक सबै वडामा संक्रमित देखिएका छन् । सबैभन्दा बढि वडा नं. १ बाँसबोटेमा २० जना, वडा नं. ४ बलम्तामा ९ जना, वडा नं. २ ताम्लिछामा ७ जना र वडा नं ५ जाँतेमा १ जना गरी जम्मा ३७ जना संक्रमित हुन् ।
८
रौतामाई गाउँपालिकाले अक्शिजन शिलिण्डर खरिदमा लागेको जनाएको छ । पालिका अध्यक्ष गजेन्द्रबहादुर खड्काका अनुसार पालिकाले १५ वटा नयाँ अक्शिजन शिलिण्डर खरिद गर्न लागेको हो । खरिदटोली काठमाडौं गइसकेको उहाँले जानकारी दिनुभयो ।
९
कोरोना महामारी चलिरहेको बेला उदयपुरको बजारहरुमा पेट्रोलको कालाबजारी सुरु भएको छ । सरकारले पेटोलियम पदार्थ दुवानीमा खुला गरेको भएपनि गाईघाटमा अहिले पेटोल पाइदैन । कालाबजारीको उदेश्यले पेटोल नपाएको आरोप उपभोक्ताहरुको छ । पेटोलपम्पमा नपाएपछि बजारमा लुकिछिपी बोटलमा विक्री गर्ने गरेको पाइएको छ । बोतलमा १६० रुपैयामा किन्नु पर्ने बाध्यता रहेको एक सञ्चारकर्मीले जनाएका छन् । यसप्रति प्रशासनले निगरानी बढाउनु पर्ने सर्बसाधारणको माग छ ।
१०
त्रियुगा नगरपालिकाको वडा नं. १६ का कोरोना संक्रमितहरुको कमजोर आर्थिक अवस्थालाई मध्येनजर गर्दै दैनिक उपभोग्य सामान वितरण गरिएको छ । आर्थिक अवस्था कमजोर भएका ३० जना संक्रमितलाई उपभोग्य सामान प्रदान गरिएको हो । जाल्पा एकिकृत विकास समाज उदयपुर, जेसिस उदयपुर र महिला सशक्तिकरण स्रोत केन्द्र उदयपुरले संयुक्तरुपमा दैनिक उपभोग्य सामानहरु प्रदान भएको हो । जिल्ला कोभिड संकट ब्यवस्थापन समितिसंगको समन्वयमा वितरण भएको हो ।
प्रतिब्यक्ति चना २ केजी, मटर २ केजी, सख्खरखण्ड १ केजी, चिउरा ५ केजी प्रदान गरिएको स्थानीय शिक्षक विवेश मगरले जानकारी दिनुभयो ।
त्यसैगरी वडाको कोरोना भाइरस नियन्त्रण संयन्त्रले घरदैलो अभियानबाट मास्क ८०० थान, सेनिटाइजर २० लिटर सेनिटाइजर वितरण गरेको जनाइएको छ ।
त्ययसैगरी कोरोनाबाट बचौ र बचाऊ अभियान अन्तर्गत मुलधार महिला सेवा केन्द्र उदयपुर र आभाशा राष्टिय अभियानले पनि वडा नं. १४ का अति विपन्न ४ घरपरिवारलाई दैनिक उपभोग्य सामान वितरण गरेको छ ।
संक्रमित भई होमआइसोलेसनमा बसिरहेकाहरुलाई हातमुख जोड्न समस्या आएका चार घरपरिवारलाई खाद्यन्न उपलब्ध गराएको हो । चिउरा ४ केजी, भुजा १२ केजी, चना २ केजी, मटर ४ केजी, दाल ४ केजी, नुन ८ केजी, विस्कुट ४ प्याकेज, बच्चाको कपडा ४ थान वितरण गरिएको आभाशा संयोजक नजबुल खान निलमले जनाउनुभयो ।
११
नेपालमा पछिल्लो २४ घण्टामा ७ हजार ९१४ जनामा कोरोना संक्रमण देखिएकोे छ । १९ हजार ९२६ जनामा परिक्षण गर्दा यतिको संख्यामा संक्रमित पुष्टि भएको हो । यो संगै नेपालमा संक्रमितको संख्या ५ लाख १३ हजार २४१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ७ हजार ६६४ जना निको भएका छन् । योसंगै निको हुनेको संख्या देशमा ३ लाख ९१ हजार ३४८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १९३ जनाले कारोनाका कारण ज्यान गुमाएका छन् । योसंगै नेपालमा मृत्यु हुनेको संख्या ६ हजार ३४६ पुगेको छ । नेपालमा हाल संक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ५४७ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
१२
विश्वमा कोरोना संक्रमितको संख्या १६ करोड ७० लाख ६९ हजार २४३ पुगेको छ । मृत्यु हुनेको संख्या ३४ लाख ६९ हजार ३८० पुगेको छ । विश्वमा कोरोना जितेर निको हुनेको संख्या १४ करोड ८० लाख ११ हजार ६७९ पुगेको छ । विश्वमा सक्रिय संक्रमितको संख्या १ करोड, ५५ लाख ८८ हजार २४३ रहेका छन् ।
