
पूर्णपुष्टि, भदौ १६
आजदेखि नियमित अन्तराष्ट्रिय उडान खुलेको छ । यहि भदौ ४ गते बसेको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ महामारीबाट बचेर सुरक्षित उडानका लागि पीसीआर परीक्षण सहज भएका देशहरुमा शर्तसहितको नियमित उडान गर्ने निर्णय गरेको हो ।

दैनिक आठ सय यात्रु नकट्ने गरी नियमित उडान सञ्चालन हुनेछ । यसबीचमा विभिन्न देशबाट चार्टर्ड उडान पनि सञ्चालन गरिने भएको छ ।
नेपालमा गत चैत्र ११ गतेदेखि लकडाउन शुरु भएसँगै अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाइएको थियो । आन्तरिक उडान पनि स्थगन गरिएको थियो । यस बीचमा कुनै पनि व्यावसायिक उडान भएनन् । विदेशमा अलपत्र नेपाली ल्याउन तथा लकडाउनले अड्किएका नेपाल र विदेश दुबैतर्फ नागरिक आवतजावतका लागि चार्टर्ड उडानहरु मात्र भएको थियो ।
त्यस्तै अत्यावश्यक स्वास्थ्य सामग्री ल्याउन विभिन्न देशबाट कार्गो उडान पनि सञ्चालन गरिएको थियो । लकडाउनको अवधिमा दैनिक १८ वटासम्म चार्टर्ड उडान भएको थियो ।
लकडाउन र त्यसपछि निषेधाज्ञाको अवधिमा अन्तर्राष्ट्रिय विमानस्थल हँुदै ५४ हजार एक सय १५ यात्रु नेपाल आएका छन् भने नेपालबाट २२ हजार एक सय ९६ जना यात्रु बाहिरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।
कार्गोतर्फ यो अवधिमा विभिन्न देशबाट १४ लाख ४१ हजार पाँच सय ४० कार्गो नेपाल भित्रिएको छ भने नेपालबाट १८ लाख २७ हजार आठ सय ४४ कार्गो विदेश पठाइएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सेप्टेम्बर महिनाभरको नियमित र चार्डर्ड दुबै उडानको तालिका सार्वजनिक गरिसकेको छ । पीसीआर परीक्षण सहज भएका देशहरु मलेसिया, यूएई, दक्षिण कोरिया, थाइल्याण्ड, जापान, चीन, हङ्कङ, अष्ट्रेलिया, अमेरिका, क्यानाडा र युरोपेली देशबाट नेपाल सरकारको निर्णयअनुसार नेपाल आउन अनुमति भएका नेपाली नागरिक र नेपालस्थित विदेशी नियोगका कूटनीतिज्ञ, कर्मचारी, संयुक्त राष्ट्रसङ्घका कर्मचारीलगायतलाई मात्र नेपाल ल्याउने गरी नियमति उडान गरिने जनाईएको छ ।
पीसीआर सहज नभएका देशहरु कतार, साउदी अरब र कुवेतलगायत अन्य देशबाट नियमित उडानमार्फत यात्रु ल्याउन नपाइने निर्णय गरेको छ । नियमित उडानका लागि उडान अनुमति नभएका श्रमिक रहेका देशबाट सम्बन्धित नेपाली कूटनीतिक नियोगबाट सिफारिस भएको नामावली बमोजिमका यात्रुका लागि चार्टर्ड उडान गरेर ल्याउन पाइनेछ ।
