
पूर्णपुष्टि, चैत १०
अमेरिकास्थित नेपाली दूतावासले पछिल्लो समय अमेरिकामा एसियाली मूलका नागरिकमाथी भईरहेको आक्रमणको निन्दा गरेको छ ।
दुताबासले एक विज्ञप्ति जारी गर्दै कुनै पनि वर्ग वा वर्णलाई लाक्षित गरेर हुने हिंसा तथा विभेद निन्दनीय हुने जनाएको छ ।
एटलान्टामा आठ जना मानिसको ज्यान जाने गरी भएको आक्रमण र सन्फ्रान्सिस्कोमा नेपाली उबर ड्राइभरमाथिको आक्रमणप्रति दूतावास गम्भीर रहेको विज्ञप्तिमा उल्लेख छ । उक्त घटनाप्रति दुःख व्यक्त गर्दै दूतावासले यी घटनाका दोषीलाई कानुनी दायरमा ल्याउन सहयोग गर्ने सबै अमेरिकी नागरिकप्रति पनि आभार व्यक्त गरेको छ ।
नेपालीहरु मनैदेखि शान्तिप्रेमी मानिसहरु हुन् । विविधता, आपसी सम्मान र सौहार्दता नेपालीहरुको लागि निकै महत्वपूर्ण कुरा हो । त्यसैले नेपालीले पनि अन्य मानिसबाट सोही कुराको अपेक्षा राख्छन् विज्ञप्तिमा उल्लेख छ ।
आफ्नो आदर्शलाई कायम राख्न र अमेरिकाको संस्कृति सम्मान गर्दै स्थानीय नियम पालना गर्न पनि सबै नेपालीहरुलाई दुताबासले आग्रह गरेको छ ।

