Monday, June 22News That Matters

अयोध्यापुरीमा राम–सीताका मूर्ति प्रतिस्थापन गरिँदै

वैशाख ८

आज राम नवमीको दिन पारेर चितवनको माडीस्थित अयोध्यापुरीमा राम–सीताको मूर्ति प्रतिस्थापन गरिँदै छ ।

प्रतिस्थापन गर्ने मूर्तिहरु मंगलबार नै प्रधानमन्त्री निवास बालुवाटारबाट रथयात्रासहित चितवन लगिएको थियो । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री भानुभक्त ढकालको नेतृत्वमा रथयात्रा समूह देवघाटमा बास बसेको थियो ।

बुधबार बिहान गण्डकीमा स्नानसहित पूजा गरी चितवनको माडीस्थित अयोध्यापुरीतर्फ रथयात्रा अघि बढ्ने छ ।

राम–सीताका मूर्ति बुधबार मध्याहृन साढे १२ बजेको साइतमा प्रतिस्थापन गर्ने तयारी छ । मूर्ति प्रतिस्थापनपछि पूजा आराधना, भजनकीर्तनलगायत कार्यक्रमसमेत गरिने छ ।

प्रधानमन्त्री ओलीले गत असारमा रामको जन्म अयोध्यापुरीमा भएको दाबी गर्दै सो स्थानमा राम, सीता, लक्ष्मण र हनुमानका मूर्ति राख्ने घोषणा गरेका थिए ।

चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व देशभरि श्रद्धा र भक्तिपूर्वक पूजा आराधना गरी मनाउदै आईएको छ ।

असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमीका अवसरमा देशभरका राम मन्दिरहरुमा पूजापाठ गरिन्छ । जनकपुरस्थित रामजानकीको मन्दिरमा पनि नेपाल तथा भारतका नरनारीको घुइँचो छ ।