Tuesday, June 9News That Matters

आगन्तुक चराले नेपालमा बर्ड फ्लु फैलिएको आशङ्का

पूर्णपुष्टि, फागुन २८ 

आगन्तुक चराले नेपालमा बर्ड फ्लुको सङ्क्रमण फैलिएको आशङ्का गरिएको छ ।

नेपालको बाटो हुँदै जाने विदेशी चराहरुका कारण देशका विभिन्न ठाउँका कुखुरामा बर्ड फ्लुको सङ्क्रमण देखा परेको प्रारम्भिक अनुमान गरिएको अनुगमन टोलीको प्रतिवेदनले देखाएको पशु स्वास्थ्यसेवा विभागले जनाएको छ ।

ठूलो सङ्ख्यामा साइबेरियालगायतका ठाउँबाट नेपालको बाटो हुँदै एकै समूहमा लाखौँको संख्यामा चराहरु उडेकाले उनीहरुको प्वाँखलगायत अवशेषहरु नेपालको जमिनमा झर्दा विभिन्न ठाउँमा सङ्क्रमण देखिएको हुन सक्ने जनाईएको छ ।

काठमाण्डौको तारकेश्वर, सुर्खेत र जाजरकोटमा एक ठाउँबाट अर्को ठाउँमा घरपालुवा पक्षीहरु ओसारपसार नभएको र नाकाहरुमा समेत सङ्क्रमण नदेखिएकाले आकाशमा उडेका विदेशी चराहरुबाट नै बर्ड फ्लु भएको जनाईएको छ ।

अहिले सङ्क्रमण देखिएका देशका विभिन्न ठाउँबाट नमुना सङ्कलन गरेर देशभर रहेका पाँच वटै प्रयोगशालामा नियमित परीक्षणको काम भइरहेको छ । अहिले बर्ड फ्लु नियन्त्रण नै गर्न नसकिने गरेर नफैलिएको तर जैविक सुरक्षामा भने ध्यान दिन पशु चिकित्सकहरुको सुझाव छ ।