Tuesday, June 2News That Matters

आज दुइको मृत्यु, १ सय ६६ संक्रमित, नेपालमा कोरोना संक्रमित १५६७ पुग्यो

पूर्णपुष्टि, जेठ १८ ।

नेपालमा पछिल्लो समय १ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएपिछ नेपाल कोरोना संक्रमितको संख्या १ हजार ५ सय ६७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार पछिल्लो २४ घण्टामा १ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डाक्टर विकास देवकोटाले संक्रमितको संख्या १ हजार ५६७ पुगेको जनाउनुभयो ।

डाक्टर देवकोटाका अनुसार संक्रमित हुनेहरूमा रौटहतका २९ जना, सल्यानका २५ जना, धनुषाका २१ जना, कालिकोटका १८ जना, दैलेखका १८ जना, सप्तरीका १२ जना, सर्लाहीका १० जना छन् । त्यस्तै पर्साका ५ जना, कपिलवस्तुका ५ जना, बाँकेका ४ जना, नेपालगञ्जका ४ जना, झापाका ४ जना, कैलालीका ३ जना, बाजुराका २ जना, स्यांजाका २, तनहुका १ जना, सुर्खेतका १ जना रहेको मन्त्रालयले जनाएको छ । आजै डडेलधुरा र बाजुरामा दुइजना बालबालिकाको कोरोनाका कारण मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा १ जना डिस्चार्ज भएका हुन् । मकवानपुरकी महिला डिस्चार्ज भएर घर फर्किएकी हुन् । संक्रमितमध्ये हालसम्म २२० जना निको भएर घर फर्किइसकेका छन् ।

मन्त्रालयका अनुसार आइतबारसम्म नेपालमा आरडिटी विधिबाट १ लाख ११ हजार १०९ नमुना परीक्षण भएका छन् । पिसिआर विधिबाट भने हालसम्म ६९ हजार ५ सय ८२ परीक्षणहरु गरिएका छन् ।

हालसम्म कोरोना संक्रमणले सिन्धुपाल्चोकमा एक, बाँकेमा एक, गुल्मीमा एक, बाराका एक, ललितपुरका एक र अर्घाखाँचीका एक, दैलेखका एक, बाजुराका एक गरी ८ जनाको मृत्यु भएको छ ।