Friday, May 22News That Matters

आज बाढी, पहिरो र डुबानको जोखिम

पूर्णपुष्टि, साउन ३१

अहिले पानी परिरहेकाले आज बाढी, पहिरो र डुबानको जोखिम देखिएको छ । भिरालो जमिन आसपास पहिरो जान सक्ने र विभिन्न नदीमा एक्कासी बाढी आउँन सक्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क हुन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

महाशाखाले दाङ, बाँके, बर्दिया, कैलाली र आसपास धेरै ठाउँमा ठूलो पानी परेकाले साना नदीमा एक्कासी बाढी आएर होचा ठाउँमा डुबान हुन सक्ने भएकाले सतर्क रहन आग्रह गरेको छ ।

त्यस्तै बबई नदीजलाधारको गुलरिया, रानीजरूवा, रम्वापुरलगायत बर्दियाको धेरै ठाउँमा ठूलो पानी परेको र अझै पर्ने क्रममा रहेकाले आसपासको डुबान भइरहने होचा ठाउँका बासिन्दालाई सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

त्यसैगरी धनकुटामा तमोर मुलघाटदेखि सप्तकोशी दोभानसम्मको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन  महाशाखाले जनाएको छ । त्यसैगरी गोरखाको बारपाक, आरूघाट, विरेनचोकलगायत धेरै ठाउँमा तथा लमजुङको बेँसीशहर, खुदीबजार लगायत केही ठाउँमा ठूलो पानी परेकाले बाढी र पहिरोको जोखिम रहेको भन्दै महाशाखाले जनाएको छ ।