Saturday, April 25News That Matters

आजदेखि गाईजात्रा सुरु

पूर्णपुष्टि, साउन २०

आजदेखि ७ दिनेसम्म चल्ने गाईजात्रा पर्व सुरु भएको छ ।  भदौ कृष्ण प्रतिपदादेखि अष्टमीसम्म मनाइने गाईजात्रा पर्व आज सुरु भएको हो ।

गाईजात्रामा एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आज गाई वा मानिसलाई गाईका रूपमा सिँगारेर परिक्रमा गराइन्छ । यसरी नगर परिक्रमा गराउँदा मृतकको आत्मा गाईको पुच्छर समाएर वैतरणी पार हुन्छ भन्ने धार्मिक विश्वास रहि आएको छ ।

राजा प्रताप मल्लले पुत्रशोकमा रहेकी आफ्नी रानीलाई अरु धेरैले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन वर्षभरि निधन भएका व्यक्तिका नाममा गाईजात्रा निकाली शहर परिक्रमा गराउन आदेश दिएअनुसार गाईजात्रा सुरु भएको किंवदन्ती छ ।

नेवार समुदायको बसोबास रहेका देशका विभिन्न शहरमा गाईजात्रा मनाइन्छ । तर यसपाली कोरोना सङ्क्रमण जोखिम बढ्दै गएकाले सचेत रहन सरकारले आग्रह गरेको छ । भिडभाड नगर्न र धर्मकर्मका कार्यमा तोकिएकाभन्दा बढी भेला नहुन स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ ।

गाईजात्राका अवसरमा काठमाण्डौ उपत्यकामा आज सार्वजनिक बिदा दिइएको छ ।