Wednesday, May 6News That Matters

आफ्नो सवारीको पैसा जनताको एम्बुलेन्समा

उदयपुर, भदौ ९ गते ।

उदयपुरको कटारी नगरपालिकाको उप–मेयरले आफु चढ्ने गाडी खरिदका लागि छुट्याएको बजेटले एम्बुलेन्स खरिद गर्ने भएको छ । उप–मेयर भिमकुमारी राउतले आफ्नो सुविधाका लागि खरिद गर्न छुट्याएको बजेटले जनताको सेवाका लागि एम्बुलेन्स खरिद गर्नेे घोषणा गरेको हो ।

आफु भैरहेकै गाडी प्रयोग गर्ने भन्दै जनताको सेवाको लागि एम्बुलेन्स किन्ने निर्णय गरेको उप–प्रमुख राउतले बताइन्् । विशेष गरी महिला तथा बालबालिका र असहायलाई सेवा दिने उदेश्यले एम्बुलेन्स खरिद गर्न लागेको उनले बताईन् ।

नगर सभाले उप–मेयरको सुविधाका लागि गाडी किन्ने निर्णय गरेपनि उपमेयर राउतले विलाशी सुविधा नलिने बरु त्यो रकमले एम्बुलेन्स किन्ने उनले बताईन् । भैरहेकै सवारी साधनको प्रयोग गर्ने र छुट्याएको बजेटले एम्बुलेन्स किन्ने उनले बताईन् ।

कार्यपालिकाको बैठकमा आफनो सुविधाको लागि सवारी गाडी किन्न विनियोजन गरेको ४० लाखबाट कटारी अस्पतालमा रहने गरि एम्बुलेन्स खरिद गर्ने प्रस्ताव उप–मेयर राउतले राखेको थियो । उप–मेयरको प्रस्ताव कार्यपालिकाले निर्णय गरेको पालिकाले जनाएको छ ।

अस्पतालमा सुत्केरी भएका महिलाहरुलाई घरसम्म निःशुल्क एम्बुलेन्स सेवा समेत उपलब्ध गराउने उद्देश्य राखिएको उप–प्रमुख राउतले बताईन् । कटारी अस्पतालको एम्बुलेन्स बिग्रीएर बसेको एक बर्ष विति सकेकाले पनि एम्बुलेन्सको आवश्यता रहेको उनले बताईन् ।

एम्बुलेन्स किनेपछि बचेको रकमले पर्यटकिय क्षेत्र बेतेनीमा अधुरो रहेको पर्यटन भवन पुरा गर्ने उप–मेयर राउतले बताईन् ।

स्थानीय तहका जनप्रतिनिधीहरुले उदाहरणीय काम गर्ने हो भने राष्ट्रको विकास हुन धेरै समय लाग्दैन । तर गाउँ–गाउँमा सिंहदरबार नभई सिंह पसेकाले जनगुनासो पनि उतिकै आईरहेका बेला उदहरणीय काम पनि भएको देख्न सकिन्छ ।