
साउन २९ गते ।
नवलपरासीका उखु किषकहरुले चिनी उद्योगलाई उधारो दिएको रमक अझै पाएको छैन । चिनी उद्योगहरुले गत वर्ष करीब ७० करोड रुपैयाँ र २०६९ सालमा उखु दिएको उखुको बाँकी रकममधये करीब ४ करोड रुपैयाँ अझै नदिएको उखु उत्पादक कृषक समितिले जनाएको छ ।
लुम्बिनी चिनी उद्योग, बागमती चिनी उद्योग, इन्दिरा सुगर मिल्स र मोहिनी चिनी उद्योग गरी चार ठूला उद्योग रहेकामा मोहिनी चिनी उद्योग सञ्चालनमा नआएका कारण किसानलाई रकम तिर्न बाँकी छैन भने अरू सबै चिनी उद्योगले किसानलाई करोडौँको रकम भुक्तानी गर्न बाँकी छ ।
इन्दिरा सुगर मिल्सले २०७० सालमा करीब १६ करोड रुपैयाँ र अघिल्लो वर्षको करीब ४ करोड रुपैयाँ गरी २० करोड रुपैयाँ किसानलाई भुक्तानी गर्न बाँकी रहेको समितिले जनाएको छ । त्यसैगरी लुम्बिनी चिनी उद्योगको करीब १४ देखि १५ करोड रुपैयाँ र बागमती चिनी उद्योगले करीब ३५ करोड रुपैयाँ किसानलाई तिर्न बाँकी रहेको जनाइएको छ ।
केही रकम उद्योगले आफ्ना बिचौलियामार्फत कम मूल्यमा किसानलाई रकम भुक्तानी गरे पनि अधिकांश सबै रकम भुक्तानी दिन बाँकी रहेको समितिका अध्यक्ष उमेशचन्द्र यादवले बताए । तत्काल रकम भुक्तानी नभए आन्दोलन गर्ने उनले बताए ।
सरकारले उखुको प्रतिक्विन्टल ५ सय ३६ रुपैया ५६ पैसा निर्धारण गरेकामा चिनी उद्योगले किसानलाई प्रतिक्विन्टल ४ सय ७१ रुपैयाँ ३६ पैसा र सरकारले बाँकी ६५ रुपैया २८ पैसा प्रतिक्विन्टलका दरले यस वर्ष अनुदान दिइने जनाएको छ ।
चिनी उद्योगहरुले बक्यौता रकम भुक्तानी शुरु गरिसकेको जनाएका छन् । उद्योगहरुले अहिले प्राथमिकताका आधारमा किसानलाई खरीद पुर्जी सङ्कलन गरी भुक्तानी दिन शुरु गरिसकेको उद्योगहरुको भनाइ छ ।
आफ्नो उद्योगले अहिलेसम्म करीब २० प्रतिशत रकम भुक्तानी गरिसकेको र अब पनि बाँकी रकम क्रमशः भुक्तानी गरिने योजना रहेको बागमती चिनी उद्योगले जनाएको छ ।
पश्चिम नवलपरासीमा ७ हजार ५ सय हक्टर जमिनमा वार्षिक करीब १८ देखि २० लाख क्वीन्टल उखु उत्पादन हुदै आएको छ भने झण्डै १० हजार परिवार उखु खेतीमा संलग्न रहेको तथ्याङ्कले देखाएको छ ।
