
पूर्णपुष्टि, वैशाख २१ ।
उदयपुरमा पछिल्लो समय स्वाव नमुना संकलन गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको छ । जिल्ला जनस्वास्थ्य प्रमुख मोहन सुवेदीका अनुसार २८ जना संक्रमित भुल्केमा भेटिएपछि उनीहरुको सम्पर्कका ब्यक्तिहरु पहिचान गरी स्वाव परिक्षण गरिएकोमा सबैको नेगेटिभ आएको हो । पछिल्लो समय भुल्के क्षेत्रबाट लिइएको ३३ जनाको स्वावको रिपोर्ट सबै नेगेटिभ आएको हो । उता बेलका नगरपालिकामा रहेका भोजपुरका संक्रमित युवाको ससुराली घरका पाँच जना सदस्यहरुको पुनः परिक्षण गर्दा पनि नेगेटिभ नै आएको छ । श्रीमती लगायत सासु, ससुरा लगायत पाँचजनाको स्वाव पुनः परिक्षण गर्दा नेगेटिभ नै आएको जनस्वास्थ्य प्रमुख सुवेदीले बताउनुभयो ।
भुल्केमा ३ सय ३७ जनाको स्वाव परिक्षण गर्दा भुल्केको नुरी मस्जिदमा रहेका १६ जना जमाती र त्यहिको बस्तिभित्रका अन्य १२ जनामा संक्रमण देखिएको थियो । त्यसबाहेक उनीहरुको सम्पर्कमा भएका र आशंका गरिएका ३ सय ३२ जना ब्यक्तिहरुको खोजी गरी स्वाव परिक्षण भयो । सबैको रिपोर्ट नेगेटिभ आएको छ । उदयपुरमा हालसम्म जम्मा ६ सय ६९ जनाकाे स्वाव नमुना संकलन गरी परिक्षण भएकाे हाे । जसमा २८ जना संक्रमित भेटिएका हुन् ।
बेलैमा लकडाउन लागेको र कडाइका साथ लागू भएकोले संक्रमितबाट त्यस बस्ति बाहेक अन्त नफैलिएको आकलन गरिएको छ । यद्यमी थप केही आशंका भएका ब्यक्ति हुनसक्ने र बस्तिसंग जोडिएका गाउँलेहरुले परिक्षणको माग गरिरहेका छन् । स्थानीयको मागलाई मध्येनजर गर्दै परिक्षण गरिने पनि जनाइएको छ ।
हालसम्मको परिक्षण महत्वपूर्ण ढंगले हेरिएको थियो र संक्रमित भेटिनसक्ने आकलन गरिएको थियो । तर सबैको रिपोर्ट नेगेटिभ आएको छ । लकडाउन र कोरोना संक्रमणको जोखिम अझै रहेकाले प्रशासनले लकडाउनमा कडाइ भने जारी राखेको छ । संक्रमित क्षेत्र भुल्केको लक जारी नै राखेको जिल्ला प्रहरी प्रमुख एसपी वीरबाहादुर बुढा मगरले बताउनुभयाे ।
