Thursday, May 28News That Matters

उदयपुरमा काेराेना सक्रिय संक्रमित ५४४, निको ८८, मृत्यु २३

पूर्णपुष्टि, जेठ ८ ।

उदयपुरमा परिक्षणको दायरा बढाएसंगै संक्रमितको संख्या पनि ठूलो मात्रामा देखिदैछ । पछिल्लो २४ घण्टामा १७१ जनाको परिक्षणमा ३८ महिला ३० पुरुष गरी ६८ जना संक्रमित पुष्टि भएको हो । यो संगै जिल्लामा सक्रिय संक्रमितको संख्या ५४४ पुगेको छ । जसमा २४६ महिला र २९८ जना पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा जिल्लामा २८ जना निको भए । योसंगै निको हुनेको संख्या जम्मा ८८ पुगेको छ ।

जिल्लामा मृत्यु हुनेको संख्या पछिल्लो २४ घण्टामा ह्वात्तै बढेको छ । स्वास्थ्य कार्यालय उदयपुरका अनुसार पाँचजना मृतकको संख्या थपिएको हो । मृत्यु हुनेमा त्रियुगा नगरपालिकाका ३ पुरुष, कटारी नगरपालिकाका १ पुरुष र उदयपुरगढीको १ पुरुष रहेका छन् । योसंगै जिल्लामा कोरोनाका कारण मृत्यु हुनेको संख्या २३ पुगेको छ ।

संक्रमितहरु मध्ये ५९७ जना होम आइसोलेशनमा र ४७ जना संस्थागत आइसोलेशनमा उपचारको क्रममा रहेका छन् । पछिल्लो समय सबैको जिल्लामै उपचार चलिरहेको जनाइएको छ ।

जिल्लामा सक्रिय संक्रमित ५४४, निको भएको संख्या ८८ र मृत्यु संख्या २३ गरी जम्मा ६५५ कोरोना संक्रमित देखिएका छन् ।

जिल्लाभर ३० वटा एम्बुलेन्स सन्चालनमा रहेको र १९४ वटा अक्सिजन शिलिण्डर रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । पाँच अस्पतालमा १९४ वटा बेड रहेका छन् । धेरै जसो संक्रमितहरु होम आइसोलेशनमा बसेकाले अस्पताल आइसोलेशन बेडहरु खाली नै छन् । उदयपुरमा १४७ अस्पतालका आइसोलेशन बेड खाली छन् । तर सबै बेडहरु कत्ति सुविधा सम्पन्न छन् भन्नेमा भने यकिन छैन ।

जिल्लाको पाँच आइसियु र दुई भेन्टिलेटर अझै सन्चालनमा आउन सकेको छैन । जटिल कोरोना विरामीहरुका लागि अति आवश्यक यी महंगा मेसिनहरु नै सञ्चालनमा नहुनु जिल्लाबासीलाई विडम्बना बनेको छ । जनशक्तिको अभावले जिल्ला अस्पताल उदयपुरमा रहेको भेन्टिलेटरहरु सन्चालन हुन सकेको छैन । सरकारले जनशक्ति ब्यवस्था गर्न सकेको छैन । जिल्लामा नागरिकहरुले भने उपचार नपाएर मर्न थालेका छन् । बढिमा अक्सिजनसम्म दिने ब्यवस्था मात्र रहेको छ जिल्लामा । छिटोभन्दा छिटो सञ्चालनमा ल्याउन माग जिल्लाबासीको छ ।

सरकारले केही नागरिकहरुलाई लगाएको कोरोनाको खोप प्रभावकारी देखिएको छ । खोप लगाएकालाई संक्रमण देखिए पनि लक्षण तथा समस्या कमि देखिएको चिकित्सकहरुको भनाई छ । उदयपुरमा पहिलोचरणमा कोरोना विरुद्ध अग्रपंतीमा खटिनेहरु २ हजार २२४ जनाले खोप पाएका थिए भने दोस्रो चरणमा १ हजार ७८१ जनाले पाएका थिए । अन्य जिल्लाबासीले पनि खोपको माग गरेका छन् ।

यसैबचि उदयपुर जिल्ला विकास बोर्डले पालिकास्तरबाटै खोप खरिद गरेर सम्पूर्ण जिल्लाका नागरिकलाई खोप लगाउने योजना बनाएको छ । जिल्लाको ८ पालिका सदस्य रहेको बोर्डले आगामी आर्थिक वर्षको विकास बजेट खोप खरिद गर्ने निर्णय गरेको छ । उक्त खोप संघीय कानुनले मिल्ने  कि नमिल्ने भन्ने थियो ।

तर, खरिद गर्न मिल्ने बुझिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मञ्त्रालयका प्रवक्ता बसन्त अधिकारीले सञ्चार माध्यमसंग कुरा गर्दै पालिकाले खोप खरिद गर्न मिल्ने बताउनु भएको छ । त्यसका लागि प्रक्रिया छिटै बगाडी बढाउदा राम्रो हुने सुझावसमेत उहाँको छ । उदयपुरका आठै पालिकालाई खोप खरिद गर्ने बाटो खुलेको छ । यो जिल्लाबासीको लागि सुखद खबर हो ।

पछिल्लो समय गाउँपालिकाहरुमा पनि कोरोना परिक्षणको दायरा बढाईएको छ । परिक्षणको दायरा बढाउदा पालिकाका संक्रमितहरु पत्ता लाग्ने र बेलैमा उपचार पाउने अवस्था छ ।

लिम्चुङबुङ गाउँपालिकामा आज परिक्षण गरिदा ३२ जना संक्रमित पुष्टि भएको पालिकाले जनाएको छ । पालिकाको विविन्न वडामा परिक्षण चलाइएको पालिकाका सुचना अधिकारी तथा लेखा अधिकृत ताराकिरण राईले बताउनुभयो ।  । त्यसैगरी रौतामाई गाउँपालिकामा २४ जना संक्रमित पुष्टि भएको पालिकाले जनाएको छ । पालिकाका अध्यक्ष गजेन्द्रबहादुर खड्काका अनुसार वडा नं. ६ मा २२ जनामा परिक्षण गरिदा १७ जना पोजेटिभ र वडा नं. ४ मा १८ जनामा परिक्षण गरिदा ७ जनामा पोजेटिभ भेटिएको हो । लिम्चुङबुङ र रौतामाईबाट आज प्राप्त संक्रमितको विवरण जिल्ला स्वास्थ्य कार्यालयमा समेटिन बाँकी छ । हरेक दिन २४ घण्टाको विवरण संकलन गरी स्वास्थ्य कार्यालयले दैनिकरुपमा जिल्लाको संक्रमितको विवरण सार्बजनिक गर्दछ ।

जिल्लाको ताप्ली गाउँपालिका परिक्षण कार्य न्यून रहेको छ । पालिकाले परिक्षणमा नै ध्यान नदिएको गुनासो नागरिकहरुको छ । पालिकाले एन्टिजेन किट लगेको भएपनि परिक्षण नै नगर्दा संक्रमित देखिएको छैन । पालिकाले २ जनामा मात्र परिक्षण गरी नेगेटिभ आएको भन्दै बाँकी परिक्षण गरेको छैन ।

सो पालिकाको गाउँगाउँमा ज्वारो आउने, टाउको दुख्ने विरामीहरु भने रहेको खबर छ । परिक्षणको दायरा नै नबढाई पालिका भने कोरोना मुक्त भन्दै बसेको  देखिन्छ । केही दिनअघि स्वास्थ्य कार्यालयले ताप्लीको एक जना संक्रमित भन्दै विवरण सार्बजनिक गरेको थियो । तर उक्त ब्यक्ति ताप्लीको पुष्टि भएको छैन । पालिकाले उक्त विवरण अस्विकार गर्दै अझै पालिका कोरोना मुक्त रहेको दावी गर्दै आएको छ । उदयपुरगढ गाउँपालिकामा पनि कोरोना परिक्षणको दायरा बढाउनु पर्ने माग पालिकाबासीको छ ।

नेपालमा  पछिल्लो २४ घण्टामा ८ हजार ९८० जनामा कोरोना संक्रमित पुष्टि भएको छ । २० हजार १०५ जनामा परिक्षण गर्दा यतिको संख्यामा संक्रमित पुष्टि भएको हो । यो संगै नेपालमा संक्रमितको संख्या ५ लाख ५ हजार ६४३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ८ हजार ८४८ जना निको भएका छन् । योसंगै निको हुनेको संख्या देशमा ३ लाख ८३ हजार ६४८ पुगेको छ । पछिल्लो २४ घण्टामा १२९ जनाको मृत्यु हुदा नेपालमा मृत्यु हुनेको संख्या ५ हजार १५३ पुगेको छ । नेपालमा हाल संक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ८०६ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

विश्वमा कोरोना संक्रमितको संख्या १६ करोड ६४ लाख ९५ हजार ९१६ पुगेको छ । मृत्यु हुनेको संख्या ३४ लाख ५८ हजार १७२ पुगेको छ । विश्वमा  कोरोना जितेर निको हुनेको संख्या १४ करोड ७२ लाख ८५ हजार ८९९ पुगेको छ । विश्वमा सक्रिय संक्रमितको संख्या १ करोड, ५७ लाख ५१ हजार ८४५ रहेका छन् ।