
पूर्णपुष्टि, माघ १४ ।
उदयपुर जिल्ला स्वास्थ्य प्रमुख मोहन सुवेदी र जिल्ला अस्पतालका प्रमुख डाक्टर जीवनारायण मण्डलबाट उदयपुरमा कोरोना रोग विरुद्धको खोप लगाउन सुरु भएको छ । उहाँहरुबाट पहिलो दिन आज कोरोना विरुद्धको खोप जिल्लामा सुरु भएको हो । 
नेपाल सरकारले कोरोनाविरुद्धको खोप जिल्लामा उपलब्ध गराएपछि आजबाट सुरुवात गरिएको हो । सरकारले पहिलोचरणमा कोरोना विरुद्ध अग्रपंतीमा खटिनेहरुलाई खोप लगाउने नीति लिएको छ । सोही अनुरुप उदयपुरका अग्रपंतीमा खटिने स्वास्थ्य कार्यालयका कर्मचारीहरु, अस्पतालका डाक्टर, चिकित्सक तथा स्वास्थ्यकर्मीहरु, सफाईकर्मी, एम्बुलेन्सका चालकहरुलाई खोप थालिएको हो । आज पहिलो दिन ३३ जनाले खोप लगाएको खोप सुपरभाइजर चिरन्जिवी निरौलाले बताउनुभयो । अस्पतालकी सिनियर अनमी टिकामाया श्रेष्ठले खोप लगाइदिनुभएको थियो ।
स्वास्थ्य प्रमुख सुवेदीले खोप सम्बन्धी विभिन्न नकारात्मक प्रचार र भ्रममा नपर्न आग्रह गर्नुभयो । उहाँले यस्तै भ्रमलाई चिर्न आफुबाट खोपको सुरुवात गरिएको बताउनुभयो । 
अमेरिकाको अक्सफोर्ड युनिभर्सिटिले पत्ता लगाएको फर्मुला अनुसार भारतले उत्पादन गरेको कोरोना विरुद्धको खोप नेपाललाई पनि उपलब्ध गराएको हो । हाल उदयपुरलाई २ हजार पाँच सय वटा खोप उपलब्ध गराएकोमा कम्तिमा एक हजार दुईसय जनालाई पुर्याउने लक्ष लिइएको स्वस्थ्य प्रमुख सुवेदीले बताउनुभयो । उहाँका अनुसार एकजनालाई दुई डोज लगाउनु पर्ने हुन्छ । पहिलो पटक लगाएको एक महिनाको अन्तरालमा अर्को डोज लगाउनु पर्ने हुन्छ । यो खोप सुत्केरी, गर्भवती र बच्चा जन्माउने तयारीको महिलाले लगाउन नहुने बताइएको छ । साथै १८ वर्ष मुनिको हकमा यो खोप नलगाइने पनि बताइएको छ ।
खोप लगाएको आधा घण्टासम्म चिकित्सकको निगरानीमा बस्नु पर्ने र त्यसका लागि तत्काल रेस्पोन्स गर्ने टोली पनि संगै रहने गरेको छ । स्वास्थ्यले आगमी सुक्रबारदेखि चौदण्डीगढी हुदै एक हप्तासम्ममा सबै पालिकामा अग्रपंतीमा खटिनेहरुलाई खोप लगाइसक्ने योजना बनाएको छ ।
अन्य तस्बिरहरु

