पूर्णपुष्टि, कार्तिक १७ गते ।
उदयपुरमा स्थानीय तहको निर्वाचनमा गोली चल्दा एक जनाको भएको मतदानस्थलबाट मतदान गर्ने एउटा वडाका बासिन्दाले मंसिर ४ गतेको चुनाव बहिस्कार गर्ने भएका छन् । जिल्लाको कटारी नगरपालिका–१० का राजनीतिक दलहरुको बैठकले आगामी मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको हो ।
गएको वैशाख ३० मा सम्पन्न स्थानीय निर्वाचनको मतदानका दिन कटारी–१० को जनता कालिका मावि सोरुङ्ग मतदान केन्द्रमा प्रहरीको गोलीबाट वीरबहादुर कटुवालको ज्यान गएको थियो । उक्त घटनामा मोहनबहादुर श्रेष्ठ घाइते भएका थिए ।
घटना पश्चात स्थानीयबासिन्दाले मतपेटिका उठाउन नदिई शव समेत घटनास्थलबाट उठाएका थिएनन् । समस्या समाधानका लागि तत्कालीन प्रमुख जिल्ला अधिकारी विरेन्द्रकुमार यादव सहितको सुरक्षा निकायको वार्तापछि सहमति मार्पmत मतगणना अघि बढेको थियो ।
घटनाबारे छानबिन गर्न उच्चस्तरीय छानबिन आयोग गठन गर्ने, दोषिलाई निलम्बन गरी कारबाही प्रकृया अघि बढाउन गृह मन्त्रालयलाई लेखी पठाउने, मृतक परिवारलाई उचित क्षतिपूर्ति तथा मृतकलाई शहीद घोषणा गर्ने, घटनाका घाइते मोहनबहादुर श्रेष्ठलाई उपचार र क्षतिपूर्ति नेपाल सरकारबाट गराउने सहमति भएको थियो ।
त्यो सहमति अहिलेसम्म कार्यान्वयन नभएको भन्दै वडाका दलहरुले आगामी निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको कांग्रेसका वडा सभापति बलबहादुर खत्रीले बताए । ‘राज्यले हाम्रो पीडा नबुझेपछि बाध्य भएर निर्णय गरेका हौं’, उनले भने, ‘वडामा चुनावी कार्यक्रम गर्न उम्मेदवारलाई रोक लगाउने निर्णय पनि गरेका छौं ।’
स्थानीय चुनावमा उक्त वडामा १४ सय ६८ मत खसेको थियो । त्यतिवेला एमालेका खड्का वडाध्यक्षमा प्यानल सहित निर्वाचित भएका थिए । वडामा २१ सय ४० मतदाता छन् ।
