Friday, July 10News That Matters

उपत्यकाको फोहर एक हप्तासम्म नउठ्ने

पूर्णपुष्टि, पुष ८ । काठमाडौं उपत्यकाको फोहर अब एक हप्तासम्म नउठ्ने भएको छ । यसअघि फोहर व्यवस्थापन गर्दै आएको स्थान नुवाकोटको सिसडोलदेखि दीर्घकालीन फोहर व्यवस्थापनस्थल बञ्चरेडाँडासम्म जाने करिब दुई किलोमिटर बाटो मर्मतको काम भइरहेकाले आगामी एक हप्ता फोहर व्यवस्थापन प्रभावित बन्न लागेको हो ।

शुक्रबारदेखि काठमाडौँ उपत्यकाका १८ स्थानीय तहको फोहर व्यवस्थापनको काम रोकिने कामपा वातावरण विभागले जनाएको छ । बाटो मर्मतकै कारण यसअघि पनि बिहान ४ देखि दिउँसो १२ बजेसम्म मात्रै उपत्यकाबाट फोहरका गाडी अन्तिम व्यवस्थापनस्थलसम्म पुग्ने गरेका थिए ।

महानगरपालिकाले आज एक सूचना जारी गर्दै सोही अवधिमा आ–आफ्नो घर पसल व्यवसायबाट उत्पन्न हुने कुहिने र नकुहिने फोहरलाई सडक, चोक, सार्वजनिकस्थलमा नफाली घरभित्रै छुट्टाछुट्टै राख्न अपिल गरेको छ । हाल फोहर व्यवस्थापन गरिँदै आएको सिसडोलभन्दा दुई किलोमिटर टाढा बञ्चरेडाँडामा दीर्घकालीन फोहर व्यवस्थापनस्थल निर्माण गरिएको छ ।

हाल निर्माण भइरहेको दीर्घकालीन ल्यान्डफिलसाइट नुवाकोट र धादिङको सिमानामा पर्छ । उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहरमध्ये करिब ७५ प्रतिशत सिसडोलमा व्यवस्थापन गरिँदै आएको थियो ।