Sunday, June 14News That Matters

एक हप्ताभित्र कोरोना बिमाको रकम भुक्तानी गर्न कोरोना पिडित पत्रकारहरुको माग

पूर्णपुष्टि, असार १८

कोरोना बिमा वापत दाबी गरिएको रकम एक हप्ताभित्र भुक्तानी गर्न माग गर्दै विराटनगरका कोरोना पीडित पत्रकारहरुले बिमा कम्पनीलाई ज्ञापन पत्र बुझाएका छन् ।

विराटनगरस्थित अजोड इन्सुरेन्स लि.का प्रबन्धक केदारबहादुर खत्रिसमक्ष बिमाबाट रकम नपाएका १९ जना पत्रकारहरुको टोलीले ज्ञापनपत्र बुझाएका हुन् । उनीहरुले संक्रमित भई बीमा दाबी गरेको एक महिनाभित्र भुक्तानी दिने भनि गरेको प्रतिवद्धता विपरीत ११ महिना बितिसक्दा पनि भुक्तानी नदिएको बताएका छन् ।

‘तपाईंहरूले नेपाल सरकारको घोषित कार्यक्रम कार्यान्वयन गर्नुभएको हो । हामीले तपाईंहरुले तोकेको प्रिमियम तिरेर बीमा गरेका हौं । तपाईहरुले हामीसँग लिखित सम्झौता गर्नुभएको छ,’ ज्ञापन पत्रमा उल्लेख छ, ‘तर, हामीले पाउनु पर्ने भुक्तानी अझै पाएका छैनौं । हामीले गरेको बीमा दाबीको प्रक्रिया कहाँ पुगेको छ र के हुँदैछ ? भन्ने अन्यौलपूर्ण अवस्था छ ।’

पत्रकारहरुले तीन दिनभित्र लिखित जानकारी दिन र एक हप्ताभित्र दाबी रकम भुक्तानी गर्न माग समेत गरेका छन् । आफहरुको माग सम्बोधन नभए सम्पूर्ण पीडित बिमितहरुलाई संगठित गरेर संघर्ष गर्ने उनीहरुको चेतावनी छ ।‘तीन दिनभित्र लिखित जानकारी दिन र एक हप्ताभित्रमा दाबी रकम भुक्तानी गर्न अनुरोध गर्दछौं,’ ज्ञापनपत्रमा भनिएको छ, ‘अन्यथा हामी सम्पूर्ण पीडित बिमितलाई संगठित गरी यस कम्पनीको विरुद्धमा चरणबद्ध रुपमा कानूनी र अन्य खालका संघर्षमा उत्रने जानकारी गराउँदछौं ।’ पत्रकारहरुले उक्त ज्ञापनपत्र जिल्ला प्रशासन कार्यालय मोरङ, बिमा समिति काठमाडौं र नेपाल पत्रकार महासंघ केन्द्र, प्रदेश र जिल्लासमितिलाई बोधार्थ पनि दिएका छन् ।