
साउन २८ गते ।
जनकपुरमा प्रश्न पत्र आउट गर्ने पाँच जना पक्राउ परेका छन् । एमबीएस प्रथम वर्षको तथ्याङ्कशास्त्र विषयको प्रश्नपत्र आउट गर्ने पाँच जना पक्राउ परेका हुन् ।
रामस्वरूप रामसागर बहुमुखी क्याम्पसमा सञ्चालन भएको एमबीएस प्रथम वर्षको तथ्याङ्कशास्त्र विषयका प्रश्नपत्रको उत्तर तयार गरिएको पानाको ‘फोटोकपी’ गरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
जनकपुरधाम उपमहानगरपालिका–१२ निबासी २१ वर्षीय सोनुकुमार साह, २२ वर्षीय लालबाबु मण्डल, २४ वर्षीय सुजीतकुमार मण्डल, ४ न. वडाका ३१ वर्षीय लीलाराज शिवमन्त्री र ईश्वरपुर नगरपालिका–७ सर्लाही निबासी २० वर्षीय अविनाश महतो पक्राउ परेको प्रहरीले जनाएको छ ।
लालबाबु मण्डलले सञ्चालन गरेको इमेज स्टुडियोमा प्रश्नपत्रको उत्तर तयार गरिएको पानाको फोटोकपी गर्ने क्रममा पक्राउ परेकाहरुलाई सार्वजनिक शान्ति विरूद्धको मुद्दा शीर्षकमा म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
