
पूर्णपुष्टि, भदौ २६
ओमानमा अलपत्र परेका महिलासहति एक सय ६५ जना स्वदेश फर्किएका छन् ।
नेपाली दूतावासले आज सम्पर्क बिहीन भएका र मानव तस्करको फन्दामा परी अलपत्र परेका नेपाली महिलालाई स्वदेश पठाएको हो ।
केही वर्ष अघिदेखि ओमानमा सम्पर्कबिहीन भएकी झापाकी नेत्रकुमारी राउत र मानव तस्करको फन्दामा परी पर्यटक भिसामा गैरकानुनी बाटो हुँदै ओमानमा अलपत्र परेका ताप्लेजुङ्गकी अरुण मादेन र स्याङ्जाकी गजकुमारी श्रेष्ठलाई दूतावासले नेपाल पठाएको छ ।
झापाकी नेत्रकुमारी राउत २०७० सालदेखि ओमानमा सम्पर्कबिहीन हुुनुभएको थियो । घरेलु कामदारको रुपमा ओमान जानुभएकी उहाँ परिवारको सम्पर्कमा नभएपछि छोरा नवराज राउतले आफ्नी आमाको खोजीका लागि परराष्ट्रमार्फत निवेदन दिएका थिए ।
त्यही आधारमा दूतावासले नै नेत्रकुमारीको खोजी गरेर सम्पर्कमा ल्याएको थियो । स्वास्थ्य अवस्था नाजुक भएकाले घरसम्म लैजाने व्यवस्थाका लागि दूतावासले नै सहजीकरण गरेको ओमानमा रहेको नेपाली दूतावासले जनाएको छ ।
वैदेशिक रोजगारीको प्रलोभनमा गैरकानुनी बाटो हुँदै ओमान पुगेर घरेलु काम गर्ने क्रममा अलपत्र परेका अरुणा र गजकुमारीलाई पनि दूतावासकै समन्वयमा आवश्यक प्रक्रिया पूरा गरी आज स्वदेश फर्किएको जनाईएको छ ।
करिब ६० जना घरेलु कामदारको रुपमा कार्यरत नेपालीलाई आवश्यक समन्वय तथा पहल गरी आजैको उडानमार्फत नेपाल आएको दूतावासले जनाएको छ । आज फर्कने चालक दल र यात्रुसहित सबैको पीसीआर रिपोर्ट नेगेटिभ रहेको पनि दूतावासले जनाएको छ ।

