
पूर्णपुष्टि, असोज २४ । सरकारले अनुत्पादक खर्च घटाउन ल्याएको नयाँ निर्णय करार शिक्षकमाथि लागू नहुने भएको छ । अर्थ मन्त्रालयले असोज ७ गते जारी गरेको विज्ञप्तिमा स्वीकृत दरबन्दी बाहेक अस्थायी र करारमा कर्मचारी नराख्न भनिएको थियो । यो नियम नेपाल सरकार, प्रदेश र स्थानीय तहका लागि लागू हुन्छ ।
तर स्थानीय तह र विद्यालयहरूले करार शिक्षकको विषयमा प्रश्न उठाएपछि शिक्षा मन्त्रालयले स्पष्ट पारेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले देशभरका ७७ शिक्षा विकास तथा समन्वय इकाईलाई परिपत्र जारी गर्दै उक्त नियम शिक्षकको हकमा लागू नहुने जानकारी दिएको हो । यस निर्णयले विद्यालयहरूले आवश्यकता अनुसार करार शिक्षक राख्न सक्ने अवस्था कायम रहेको छ ।
