
राजेन्द्र दुष्ट
बेल्टार/कार्तिक १ गते ।
राज्यको पुनःसंरचना पश्चात विभाजित नेपाली कांग्रेसको स्थानीय तहको समायोजन कार्यक्रम धमाधम भइरहेको छ । पार्टीको केन्द्रीय निति तथा निर्देशन अनुसार चौदण्डीगढी नगर समिति मंगलबार समायोजन भएको हो ।
पार्टी कार्यालयमा भएको कार्यक्रममा राजेन्द्र पौडेलको सभापतित्वमा ६१ सदस्य चयन गरिएको छ । पुरानो संरचना अनुसारका गाउँ पार्टी समितिलाई नगर समितिमा गाभेर एकैठाउँमा ल्याएपछि समायोजन गरिएको हो । चौदण्डीगढीको हकमा बेल्टार बसाहा नपा, हडिया, सिद्धिपुर, चौदण्डी, सुन्दरपुरका गाउँ समितिका सभापतिहरु मध्ये स्थानीय तहको केन्द्रलाई नै सभापतिमा मनोनयन गर्ने निर्देशिका अनुसार यस अघिका सभापति पौडेललाई नै पुनः सभापतिमा चयन गरिएको हो ।
गाउँ समितिका सभापतिहरु सबैलाई उप सभापति र सचिवहरुलाई यथावत सचिव पदमै पदास्थापन गरिएको छ । कार्यक्रममा जिल्ला सभापति विदुर बस्नेत, सचिव देवेन्द्र पौडेल, चौनपा नगर प्रमुख खगेन्द्र राई, जननिवार्चित वडाध्यक्षहरु प्रशुराम राई, तेजराज तिम्सिना १० वटै वडाका स्थानीय नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो । कार्यक्रम खेमराज राईको संचालन राजेन्द्र पौडेलको सभापतित्वमा समापन भएको थियो ।
