
पूर्णपुष्टि,माघ २१
२८ करोड मूल्य बराबरको एक लाख २५ हजार बोरा रहेको उक्त मल काम नलाग्ने भएको छ । भदौ ६ गते वीरगञ्जको सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयमा आएको पाँच महिना भइसक्दा सबै मल पानीले भिजेर डल्ला परेकाले भन्सार जाँचपास हुनसकेको छैन । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले तेस्रो मुलुकबाट आयात गरी नेपाल भित्र्याएको ६ हजार ६०० मेट्रिक टन रासायनिक मलमध्ये २८ करोड मूल्य बराबरको ६ हजार २५० मेट्रिक टन मल भिजेर काम नलाग्ने भएको हो ।
कम्पनीले आयातकर्ता स्वीस सिङ्गापुरमार्फत उक्त मल मगाएको हो । सो मल सुक्खा बन्दरगाह भन्सार कार्यालयको ‘यार्ड’मा यत्रतत्र छरिएको अवस्थामा छ । सिङ्गापुर पानीजहाजमार्फत भारतको कोलकाता बन्दरगाहमा ल्याइपु¥याएको र त्यहाँ राखिएको अवस्था असार–साउनतिर बङ्गालको खाडीमा आएको आँधीका कारण मल भिजेको हुनसक्ने क्षेत्रीय प्रबन्धक अमोज लामिछानेले बताए । भिजेको मल काम नलाग्ने भएपछि सोको जिम्मेवारी कर्पोरेशनले लिन नसक्ने लामिछानेले बताए ।
भजेको र डल्लो परेको सो मलको सम्पूर्ण जिम्मेवारी आयातकर्ता स्वीस सिङ्गापुरले लिनुपर्ने र उक्त मलको भुक्तानी भने सरकार तिर्न नसकिने बताइएको छ । भिजेर बिग्रिएको अवस्थामा सो मल आएकाले जाँचपास हुन नसकेको, भए पनि कुनै प्रायोजनका लागि प्रयोग योग्य भए मात्र जाँचपास गरिने सुक्खा बन्दरगाह कार्यालयले जनाएको छ ।
