
पूर्णपुष्टि, कात्तिक १७
वर्षाले अवरुद्ध भएको कालीगण्डकीमा जल यातायात (स्टिमर सेवा) वर्षायाम सकिएपछि पुनः शुरु भएको छ ।
कात्तिक पहिलो सातादेखि नदीमा पानीको बहाव घटेपछि कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजना निर्माणका क्रममा बनेको जलाशयमा जल यातायात (स्टिमर सेवा) पुनः शुरु भएको हो ।
वर्षाले नदीमा बहाव बढेपछि दुर्घटना निम्तिने खतराले असारको पहिलो सातादेखि स्टिमर सेवा अवरुद्ध भएको थियो । लामो समयसम्म वर्षा भएका कारण बहाव नघटेकाले गत वर्षहरु झैँ यस वर्ष ढिलो गरी स्टिमर सेवा शुरु भएको जल यातायात प्रालिले जनाएको छ ।
गत असार पहिलो सातादेखि कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि दुर्घटना हुन सक्ने भएकोले साउन, भदौ र असोजमा सेवा बन्द गरिएको थियो । स्टिमर सञ्चालनमा आएपछि यस क्षेत्रका बासिन्दाका लागि सहज भएको जनाइएको छ ।
स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ मिर्मी आँधीमुहानदेखि पर्वतको बिहादी गाउँपालिका–६ शालिग्राम सेतीवेणीसम्म सात किलोमिटरको दूरीमा १९ वर्षदेखि जल यातायात स्टिमर सेवा सञ्चालनमा छ । स्टिमर सेवाबाट दक्षिण पर्वतको बिहादी र पैंयु गाउँपालिकाका साथै स्याङ्जा, गुल्मी र बाग्लुङका बासिन्दा लाभान्वित हुने गरेको छ ।
स्टिमरबाट दैनिक एक हजारभन्दा बढीले जलाशयमा ओहोरदोहोर गर्ने गरेको प्रालिले जनाएको छ । स्टिमरमा १ सय ५० जना सवार गर्न मिल्ने १० वटा र १५ जना सवार गर्न मिल्ने माइक्रोस्टिमर दुई वटा सञ्चालन भइरहेको जनाईएको छ ।
कोरोना महामारीले गर्दा अहिले सामाजिक दूरी कायम गरी आधा सङ्ख्यामा मात्र यात्रुहरु राख्ने गरिएको छ भने भाडादर समेत बढाइएको छ । अहिले दुई तर्फी यात्रा गर्दा भाडा दर चार सय तोकिएको समितिले जनाएको छ ।
कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजना प्रभावित क्षेत्र स्याङ्जाको गल्याङ नगरपालिका, पर्वतको बिहादी गाउँपालिका र गुल्मीको कालीगण्डकी गाउँपालिकाका स्थानीयवासीलाई सेवा पुनः शुरु भएपछि सहज बनाएको जनाईएको छ ।
