
पूर्णपुष्टि, साउन २१
अहिलेसम्म नेपालमा कोरोना सङ्क्रमण पुष्टि भएकामध्ये युवाको सङ्ख्या धेरै रहेको पाइएको छ । अहिलेसम्म २१ हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएकोमा युवाको सङ्ख्या धेरै रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको हो ।
अहिलेसम्म सबैभन्दा धेरै २१ देखि ३० वर्ष उमेर समूहका ७ हजार ७ सय ५१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । त्यस्तै ३१ देखि ४० वर्ष उमेर समूहका ४ हजार ९ सय ८७ जना, ११ देखि २० वर्ष उमेर समूहका ३ हजार ९ सय ५४, ४१ देखि ५० वर्ष उमेर समूहका २ हजार १ सय ५० जना रहेको मन्त्रालयले जनाएको छ ।
त्यसैगरी ५१ देखि ६० वर्ष उमेर समूहका ८ सय ४६ जना, १ देखि १० वर्ष उमेर समूहका ८ सय ४४ जना, ६१ देखि ७० वर्ष उमेर समूहका २ सय ८४ जना, ७१ देखि ८० वर्षसम्मका ७५ जना र ८० वर्षमाथिका १८ जनामा कोरोना सङ्क्रमण भएको छ ।
सुरुका दिनमा विदेशबाट आएकामा कोरोना देखिएको थियो । विषेश गरी कामको सिलसिलामा विदेश जाने युवाको उमेर २१ देखि ३० वर्षसम्म भएकाले यो उमेर समूहका धेरैमा सङ्क्रमण भएको मन्त्रालयले जनाएको छ । यस्तै ११ देखि ५० वर्ष उमेर समूहका मानिस घरबाहिर निस्कने भएकाले यी उमेर समूहका धेरैमा कोरोनाको सङ्क्रमण देखिएको जनाईएको छ ।
सरकारले केही प्रतिबन्धसहित लकडाउन हटेको घोषणा गरेपछि कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । साउन ७ देखि १२ गतेसम्म १ सय ५० को हाराहारीमा सङ्क्रमित थपिएकामा १३ गते ३ सय ११ जनामा कोरोना पुष्टि भयो । १४ देखि १६ गतेसम्म फेरि तीन सयभन्दा कममा सङ्क्रमण पुष्टि भएकोमा १७ गते फेरि ३ सय १५ जना नयाँ सङ्क्रमित थपिए । यस्तै १८ गते २ सय ४६, १९ गते ४ सय १८ र २० गते २ सय ५९ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
काठमाण्डौ भित्रिने मुख्य नाकामा आइपुगेकाको सरकारले कोरोना परीक्षण थालेको छ । अहिलेसम्म नागढुङ्गा, फर्पिङ र साँगाबाट १० हजार ८ सय ५३ जनाको स्वाब सङ्कलन गरिएकोमा १० हजार ८ सय १२ जनाको रिपोर्ट आउँदा ४० जनामा कोरोना देखिएको मन्त्रालयले जनाएको छ ।
लकडाउन खुलेपछि मानिसले लापर्वाही गरेकोले सङ्क्रमितको सङ्ख्या बढिरहेको मन्त्रालयको बुझाइ छ ।
मङ्गलबारसम्म २१ हजार ९ जनामा कोरोना पुष्टि हुँदा ४३ जनाको सघन उपचार कक्ष (आईसीयू) र भेन्टिलेटरमा उपचार भइरहेको छ । वाग्मती प्रदेशमा २३, प्रदेश २ मा १२, प्रदेश १ मा पाँच, प्रदेश ५ मा दुई तथा सुदूरपश्चिम प्रदेशमा एक जना गरी ४३ जनाको आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको हो ।
भोजपुर, सङ्खुवासभा, मनाङ र मुस्ताङमा अहिले सक्रिय सङ्क्रमित छैनन् । यसअघि केहीमा सङ्क्रमण भए पनि उनीहरु सबै जना निको भएर घर फर्किएपछि यी जिल्लामा सक्रिय सङ्क्रमितको संख्या शून्यमा झरेको हो ।
अहिलेसम्म नेपालमा ४ लाख ६ हजार जनाको कोरोना परीक्षण गरिएकोमा २१ हजार ९ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये १५ हजार २६ जना उपचारपछि निको भएका छन् । ५ हजार ९ सय २५ जना आइसोलेशनमा र १० हजार ४ सय ५२ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।
