Sunday, June 21News That Matters

कोरोना प्रभावित २९ विपन्न परिवारलाई राहत वितरण

पूर्णपुष्टि, असार १० 

उदयपुरको त्रियुगा नगरपालिका र उदयपुरगढी गाउँपालिकाका कोरोना प्रभावित २९ विपन्न परिवारलाई कोभिड–१९ दु्रत प्रतिकार्य समुहले घर–घरमै पुगेर खाद्य सामग्री उपलब्ध गराएको छ । संक्रमण भई घरमै बसेका त्रियुगा नगरपालिका-१५ खाँबुका १८ र उदयपुरगढी गाउँपालिका-७ कोल्टेका ११ विपन्न परिवारलाई पोष्टिक आहारसहित खाद्य सामग्री उपलब्ध गराइएको हो ।

ज्याला मजदुरी गर्दै आएका परिवारका सदस्यलाई कोरोना संक्रमण देखापरेसँगै भोक–भोकै बस्नु पर्ने बाध्यता आईपरेपछि ग्लोवल आईएमई बैंक, त्रियुगा उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष रमेश रसाइली र ओरेक नेपालसँगको सहयोग तथा सहकार्यमा समुहले खाद्य सामग्री उपलब्ध गराएको संयोजक भरत खड्काले जानकारी दिए । उनले भने, ‘कोरोना भाइरसबाट संक्रमित त्यस क्षेत्रका गरिब, अशक्त, दलित, जनजातीलाई तत्काल भोकै नबसुन बन्ने उदेश्यले खाद्य सामग्री उपलब्ध गराएका हौ । रोगसँग प्रतिरोध गर्ने क्षमता विस्तारका लागि स्वास्थ्य मन्त्रालयले तयार पारेको आइसोलेसन किटअन्र्तगत पोसिलो खानेकुरा उपलब्ध गराएको उनले बताए ।

सरकारले संक्रमित परिवारका लागि सकेसम्म घरमै बस्ने वातावरण तय गर्न आइसोलेसन किटअन्र्तगत चना, मटर, सखर, चिउरा, आलु, चामल लगायतका सामग्री वितरण गर्न सकिने बताएको छ । आर्थिक अभावले पोसिलो खाद्य सामग्री खान नपाउँदा रोगसँग प्रतिरोध गर्ने सामथ्र्य कमजोर हुने देखिएपछि वडा कार्यालय, स्थानीय संघसंस्थासँग समन्वय गरी उक्त क्षेत्र रोजिएको उनले बताए । समुहका प्रदेस समितिका संयोजक महेश्वरी राई, जिल्ला सल्लाहकार सदस्य रमेश रसाईली, सहसंयोजक सुमन परियार, आनन्द खड्का, सदस्यहरु सागर नेपाल, सिएम गुरागाई, कल्पना ढकाल, पम्फा पुरी, संजिव काफ्ले, शैलेस बस्नेत, नेपाल पत्रकार महासंघका उपाध्यक्ष गंगा राई, हुरेण्डेकका कार्यक्रम संयोजक विनु सुबेदी, पुजा मगरको उपस्थितिमा सामग्रीहरु उपलब्ध गराएको हो ।