Monday, June 22News That Matters

कोरोना सङ्क्रमितलाई भुँईमा राखेर उपचार

बैशाख १० 

अस्पतालमा बेड नभएपछि दाङमा कोरोना संक्रमितलाई भुँर्ईमै  राखेर उपचार गर्न थालिएको छ ।

कोरोना संक्रमितलाई उपचार गर्ने गरी स्थापना भएको प्रदेश स्तरीय कोरोना विशेष अस्पताल बेलझुण्डीमा क्षमता भन्दा बढी बिरामी भएपछि बेड अभाव हुँदा भुईँमै राखेर उपचार भइरहेको अस्पताल व्यवस्थापनले जनाएको छ ।

कोरोनाको पहिलो लहरमा एक सय बेडमा सञ्चालन भएको कोरोना विशेष अस्पताल बेलझुण्डी अहिले भने २५ बेडमा मात्रै सीमित छ । कोरोना सङ्क्रमितको उपचारका लागि स्थापना गरिएको प्रदेशस्तरीय कोरोना विशेष अस्पताल बेलझुण्डी ‘हाउस फुल’ भए पनि उपचारको अर्को व्यवस्था भने हुन सकेको छैन ।

२५ बेडमा सञ्चालन भएको अस्पतालमा आन्तरिक व्यवस्थापनबाट ३८ बेड सम्म पु¥याएर सञ्चालन गरी बिरामीको उपचार गरिरहेको छ । बिरामीको संख्या दिन प्रतिदिन बढ्दै गएपछि भुईँमा राखेर उपचार गर्नुपर्ने बाध्यता आएको जनाएको छ ।

पछिल्लो समय दाङमा कोरोना सङ्क्रमितको संख्या निकै बढेको छ । दाङमा अहिले २ सय ६७ जना र जिल्ला बाहिर ४१ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् । कोरोना सङ्क्रमण बढेसँगै दाङका अस्पतालमा बिरामीको चाप बढेको छ ।

दाङमा अस्पताल अभाव भएपछि कोरोना सङ्क्रमितको उपचार गर्न बुटवल र बाँकेसम्म लैजाने गरिएको छ । अहिलेसम्म दाङमा ५७ जना कोरोना सङ्क्रमितले ज्यान गुमाइसकेका छन् ।