
पूर्णपुष्टि, साउन २५
अहिलेसम्म विदेशमा कोरोना भाइरस सङ्क्रमणबाट एक सय ९१ जना नेपालीको मृत्यु भईसकेको छ । कोरोना संक्रमणबाट पछिल्लो समय भारतमा थप दुई जना नेपालीकोे मृत्यु भएपछि विदेशमा एक सय ९१ जना नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघले जनाएको छ ।
यस हप्ता भारत, अष्ट्रेलिया, बेल्जियम, पोल्याण्ड, फ्रान्स, कतार, साउदी अरेबियामा रहेका नेपालीमा थप सङ्क्रमण देखिएको छ । गते हप्ताको तुलनामा मध्यपूर्वका देशहरु कतार, युएई, साउदी अरबलगायतमा कोरोना सङ्क्रमणको दरमा कमी आएको छ । यस हप्ता अष्ट्रेलिया रहेका एक सय ४६ नेपालीमा नयाँ सङ्क्रमण थपिएको संघले जनाएको छ ।
गत हप्ता लग्जेम्वर्गमा रहेका नेपाली सङ्क्रमितहरु सङ्क्रमणमुक्त हुँदै गएका छन् । विश्वका ३८ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । तीमध्ये १६ देशमा रहेका नेपालीको कोरोनाका कारणले मृत्यु भएको छ ।
कोरोना भाइरसका कारण बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड र स्वीडेन, भारत, नेपाल, साउथअफ्रिकालगायतका देशमा रहेका नेपालीको मृत्यु भएको हो ।
अहिलेसम्म नेपालसहित विदेशमा रहेका ५५ हजार ९ सय २५ जनामा कोरोना सङ्क्रमण देखिएको संघले जनाएको छ । उक्त संक्रमित मध्ये ४७ हजार ४ सय ३७ जना उपचारपछि कोरोना मुक्त भएको जनाइएको छ ।
