Monday, June 29News That Matters

कोशी करिडोर स्थानीय तहले निर्माण गर्ने

पूर्णपुष्टि, असार ४ गते ।

अलपत्र परेको कोशी करिडोर उदयपुरका ३ वटा स्थानीय तहले निर्माण गर्ने भएको छ । विगत १० वर्षदेखि अलपत्र परेको मध्यपहाडी लोकमार्गमा जोडिने कोसी करिडोर नामले परिचित उदयपुरको घुर्मी–चतरा सडक ओझेलमा परेको भन्दै उदयपुरका स्थानीय तहले निर्माण गर्ने भएको हो ।

बुधबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उदयपुरका अध्यक्ष बिनोद कटुवाल (दिवश) को अध्यक्षतामा कटारी नगरपालिकाको कार्यलयमा बसेको सर्वपक्षीय बैठकले संघीय सरकारले अलपत्र पारेको सडक कटारी नगरपालिका, ताप्ली र लिम्चुङबुङ गाउँपालिका आफैले निर्माण गर्ने निर्णय गरेको छ ।

आगामी आर्थिक वर्षको बजेटबाट निर्माण गर्ने गरी ४ करोड रकम विनियोजन गर्ने निर्णय गरेको छ । सडक सर्भे गर्दा वातावरण प्रभाव मूल्यांकन (ईआईए) अध्ययन नगरेको भन्दै वन कार्यालयले रोकेपछि १ सय ६७ किलोमिटर दुरी भएको सडकको ट्रयाक खोल्ने काम अलपत्र परेको थियो ।

संघीय सरकारले १० वर्षअघि निर्माण सुरु गरेपनि अहिले अलपत्र पारेको छ । त्यही सडक निर्माणको लागि कटारी नगरपालिका, ताप्ली र लिम्चुङबुङ गाँउपालिकाले संयुक्त रुपमा चार करोड लगानी गर्ने भएको हो ।

२०६७ सालमा २० वटा निर्माण कम्पनीले २० ठाउँबाट ट्रयाक खोल्न सुरु गरेका थिए । तर, साविकको जिल्ला वन कार्यालय उदयपुरले ईआईए नगरी निर्माण कम्पनीले काम गर्न थालेको भन्दै रोकेको थियो । उदयपुरको घुर्मीदेखि सुनसरीको चतरासम्मको १ सय ६७ किलोमिटर मध्ये ६० किलोमिटर सडकमा ट्रयाक खोल्न २०६७ मै टेन्डर लागेर काम सुरु भएको थियो । ईआईए गरेर सरकारबाट स्वीकृत गराएपछि मूल्य समायोजनको माग गर्दै निर्माणको ठेकेदार कम्पनीले काम छाडेका थिए ।

वन कार्यालयले इआइए गरेर काम अघि बढाउन सरकारी प्रक्रिया टुङ्ग्याउँदा पनि काम सुरु नभएपछि स्थानीय तहले मिलेर सडक निर्माण जुटन लागेको ताप्ली गाउँपालिका उदयपुरका अध्यक्ष उद्धवसिंह थापाले बताए । कोसी करिडोरले उदयपुरको बेलका, त्रियुगा, कटारी नगरपालिका, रौतामाई, ताप्ली र लिम्चुङबुङ गाँउपालिकाका सर्वसाधरणलाई सुविधा पु¥याउने छ । र यो सडक खोटाङ, सोलुखम्बु, ओखलढुङ्गालाई प्रदेश १ को राजधानी विराटनगर जोड्ने छोटो दूरीको सडक हो ।

सुनसरी, धनकुटा, भोजपुरलगायतका पूर्वी नेपाललाई काठमाडौं जोड्ने छोटो दूरीको सडक पनि पर्ने भएकाले रोकिएको काम सुरु गराउन प्रदेश र संघीय सरकारकारले जनप्रतिनिधिले पटक पटक माग गर्दै आएको ताप्ली गाँउपालिकाका अध्यक्ष थापा बताए ।

सरकार र ठेकेदारबीचको समस्या समाधन हुँदा पनि सकड निर्माणको काम अघि बढेको छैन । पटक पटक डेलिकेशन गएर संघीय सरकारलाई काम सुचारु गराउन आग्रह गर्दा पनि अहिलेसम्म काम सुरु भएको छैन । अहिले कटारी नगरपालिकाको घुर्मीबजारदेखि लिम्चुबुङको गाउँपालिकाको कुनाही घाटसम्म निर्माण गर्ने गरी चार करोड विनियोजन गर्ने निर्णय गरेको छ ।

जिल्लाको सात स्थानीय तहमा कोसी करिडोरले छुन्छ । जसको कारण विराटनगर, काडमाडौ ंलगायतका सहर पुग्ने छोटो दूरीको यस करिडोर बन्दा कृषि, पर्यटनमा फाइदा पुग्ने लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजरकुमार राई बताए । निर्माण सुरु भएर रोकिएको काम पुनः सुरु गराउन लागि परे पनि संघीय सरकारले वेवास्था गरेको आरोप समेत लगाएको छ ।

जिल्लाका सातै स्थानीय तह मिलेर घुर्मी चतरा सडक सम्पन्न गर्ने गरी अघि बढेको कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठ काजीले बताए । सुरुमा हामी कटारी नगरपालिका, ताप्ली गाँउपालिका र लिम्चुङबुङ गाउँपालिकाले काम सुरु गरेको उनले बताए । विस्तारै रौतामाई गाँउपालिका, त्रियुगा, चौदण्डी नगरपालिका र बेलका नगरपालिकासँग पनि सहकार्य गरेर काम गर्ने उनले बताए ।

जानकारहरु सप्ताकोसी उच्च बाँधका कारण निर्माण सुरु गरिएको सडक रोकिएको बताउँछन् । सप्तकोसी उच्च बाँध बहुउद्देश्यीय आयोजना तथा सुनकोसी कमला डाइभर्सन परियोजनाको कारण पनि कोसी करिडोर रोकिएको जानकारहरुको भनाइ छ ।

नेपाल र भारत सरकारको संयुक्त योजनामा सम्पन्न हुने सप्तकोसी उच्च बाँध बहुउद्देश्यीय आयोजना तथा सुनकोसी कमला डाइभर्सन परियोजनाको डिपिआरले निर्माणाधीन सुनकोसी करिडोर क्षेत्र पनि डुबानमा पर्ने देखाएकाले करिडोर निर्माण रोकिएको बताउँछन् ।