
पूर्णपुष्टि, असार २ गते ।
दाङको एक क्वारेन्टाइनमा बसेका एक जोडीले क्वारेन्टाईनमै अन्तरजातीय विवाह गरेको छ ।
घोराही उपमहानगरपालिका–१८ मा रहेको बेलघारी क्वरेन्टीनमा बसेका घोराही उपमहानगरपालिका–१८ का २३ वर्षीय समीर वली र तुलसीपुर उपमहानगरपालिका–५ की २१ वर्षीया सीता चौधरीबीच वडाध्यक्ष भरत अर्यालको उपस्थितिमा विवाह सम्पन्न भएको हो ।
भारतको दिल्लीबाट घर फर्केर क्वरेन्टीनमा बसेका उनीहरु मायाप्रेममा रहेकाले उनीहरुकै आग्रहमा विवाह गरिदिएको वडाध्यक्ष अर्यालले बताए । माया प्रेममा रहेको र घर सल्लाहमै बरपिपल साक्षी राखेर सामान्य मन्त्रोच्चारण गरेर विवाह गराइदिएको उनले बताए ।
पीसीआर रिपोर्ट आएपछि विवाह गर्न सुझाए पनि केटा केटी दुवैले आफ्नो संस्कार अनुसार ९ महिनामा विवाह गर्न नमिल्ने बताएपछि जेठ ३२ गते विवाह गराएको जनाईएको छ ।
उनीहरु जेठको पहिलो साता घर फर्केर क्वरेन्टीनमा बस्दै आएका थिए । झण्डै २४ दिन क्वरेन्टीनमा अलग्गै बसेका उनीहरुको रिपोर्ट विवाह गरेको एक दिनपछि असार १ गते सोमबार आएको छ ।
त्यसै क्वरेन्टीनमा उनीहरुसँगै बसेका अन्य ४ जनाको रिपोर्ट पोजिटिभ आए पनि नवविवाहित जोडीको रिपोर्ट भने नेगेटिभ आएको जनाईएको छ ।
