Friday, July 3News That Matters

खर्चका कारण बिदेशमा अलपत्र नेपालीहरुलाई निशुल्क टिकट

पूणर्पुष्टि, साउन, ४

बैदेशिक रोजगारीको शिलशिलामा पैसा विहिन विदेशमा रहेका नेपालीहरुलाई नेपाल सरकारले फ्रि टिकटको व्यवस्था गरी नेपाल फर्काउने प्रक्रिया सुरु गरेको छ ।

दूतावासहरुले प्राथमिकताको सूचीमा राखेको नेपालीहरु खर्चका कारण चार्टर्ड उडानको टिकट किन्ने खर्च नपाएर अलपत्र परेका अवस्थामालाई मध्यनजर गरी फ्रि टिकटको व्यवस्था गरेको हो ।

यदि खर्च अभाव हो भने तुरुन्तै दूतावासमा एउटा निवेदन दिएमा विदेशमा बेर्खची भएका श्रमिकलाई सरकारी खर्चमा उद्धार गरिने सरकारले बताएको छ ।

सम्बन्धित गन्तव्य मुलुकको सरकार, रोजगारदाता, रोजगारीमा पठाउने इजाजतपत्रवाला वा अन्य स्रोतबाट समेत नेपाल फिर्ताको लागि हवाई टिकट र विमानस्थलबाट सम्बन्धित क्वारान्टिनसम्म पुर्‍याउन लाग्ने खर्च नभएका श्रमिकले टिकटसहितको सुविधा पाउने श्रम मन्त्रालयका सहसचिव एवम् प्रवक्ता सुमन घिमिरेले बताउनु भएको छ ।

थुनामा परी आममाफी पाएर स्वदेश फिर्ती केन्द्रमा रहेका श्रमिकलाई समेत कोषको रकम खर्च गरी उद्धार गरी स्वदेश फिर्ता गरिने सरकारको भनाइ छ ।

सम्बन्धित गन्तव्य मुलुकको सरकार, रोजगारदाता, रोजगारीमा पठाउने इजाजतपत्रवाला वा अन्य स्रोतबाट स्वदेश फिर्ताको लागि आंशिक सहयोग प्राप्त भएकोमा त्यस्तो श्रमिकलाई स्वदेश फिर्ता हुन लाग्ने हवाई टिकट खर्चमा नपुग भएको रकमसम्म कोषबाट व्यहोर्न व्यवस्था पनि गरिएको छ ।

अब अलपत्र परेका श्रमिकले स्वदेश फिर्ताको लागि तोकिएको ढाँचामा सम्बन्धित कूटनीतिक नियोगमा निवेदन दिनुपर्ने सरकारले जनाएको छ । नियोगले इजाजतपत्र प्राप्त संस्था मार्फत वैदेशिक रोजगारीमा गएका श्रमिकको हकमा त्यस्तो म्यानपावर कम्पनीमा सोको जानकारी पठाउने व्यवस्था गरेको छ ।

सम्बन्धित गन्तव्य मुलुकको सरकार, रोजगारदाता, रोजगारीमा पठाउने इजाजतपत्रवाला वा अन्य स्रोतबाट श्रमिकलाई हवाई टिकट वा अन्य खर्च उपलब्ध भएरनभएको हेरिनेछ ।  श्रमिकले सम्बन्धित देशमा प्राप्त गरेको पारिश्रमिक खुल्ने रोजगार करारपत्र, श्रमिकले काम गरेको अवधिको तलव तथा अन्य सुविधा पाए वा नपाएको र श्रमिकले अन्य कुनै पक्षबाट स्वदेश फिर्ताका लागि पूणर् वा आंशिक आर्थिक सहयोग पाए वा नपाएको यकीन गरिनेछ । रोजगारी गुमाउनु पर्नाको कारण, श्रमिकको कोभिड(१९ सम्बन्धी स्वास्थ्य परीक्षण विवरणलाई पनि आधार मानिनेछ ।

विवरण यकिन गरी कूटनीतिक नियोगले प्राप्त प्रमाण संलग्न गरेर वैदेशिक रोजगार विभागको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीबाट विवरण रुजु गरी प्रमाणित गर्नु पर्नेछ ।

अलपत्र परेका श्रमिकलाई उद्धार गरी स्वदेश फिर्ता गर्न उपयुक्त देखिएमा कूटनीतिक नियोगले सो विवरण प्रमाणित गरी परराष्ट्र मन्त्रालयमार्फत वैदेशिक रोजगर बोर्डमा पठाउनु पर्नेछ । बोर्डले त्यस्ता श्रमिकलाई स्वदेश फिर्ता गर्न वैदेशिक रोजगर कल्याणकारी कोषबाट रकम उपलब्ध गराउनेछ ।

प्रक्रिया पूरा भएपछि सम्बन्धित कूटनीतिक नियोगले परराष्ट्र मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र मन्त्रालयको समन्वयमा त्यस्ता श्रमिकलाई स्वदेश फिर्ता गर्नु पर्नेछ ।

यस्तो प्रक्रिया पुरा गरेका श्रमिकलाई दुई किसिमबाट खर्च दिइनेछ  । एक वर्ष भन्दा कम रोजगार करार अवधिमा रोजगारी गुमाएको श्रमिकको लागि लाग्ने हवाई टिकट खर्चको शत प्रतिशत रकम सरकारले व्यहोर्नेछ । एकवर्ष वा सो भन्दा बढी रोजगार करार अवधिभित्र रोजगारी गुमाएको श्रमिकको लागि लाग्ने हवाई टिकट खर्चको ७५ प्रतिशत रकम सरकारले तिर्नेछ ।

पुनः श्रम स्वीकृति लिई गएको श्रमिकको हकमा भने हवाई टिकट खर्चको ५० प्रतिशत रकम मात्र कोषबाट व्यहोरिने भएको छ । श्रम स्वीकृतिको अवधिभित्र थुनामा परेर आममाफी पाई स्वदेश फिर्ती केन्द्रमा रहेका श्रमिकको लागि लाग्ने हवाई टिकट खर्चको शत प्रतिशत रकम कोषबाट व्यहार्ने व्यवस्था गरिएको छ ।

कोषबाट हवाई टिकटको खर्च व्यहोर्ने गरी नेपाल फर्काइएका श्रमिकहरूलाई विमानस्थलबाट सम्बन्धित क्वारान्टिनसम्म पुर्‍याउन लाग्ने खर्च समेत कोषबाट व्यहोरिनेछ ।