
पूर्णपुष्टि, साउन २३
स्वदेश फिर्ती उडान सुरु भएपछि खाडी र मलेसियाबाट २ सय ४६ नेपालीको शव नेपाल ल्याइएको छ भने १ सय ७२ जनाको गन्तब्य देशमै अन्त्येष्टि गरिएको छ ।
गत जेठ ३२ गतेदेखि विदेशमा समस्यामा परेका नेपालीको स्वदेश फिर्ती उडान सुरु भएको थियो । कोरोना महामारी सुरु भएयता विदेशमा मृत्यु भएका ४ सय ९४ जनामध्ये २ सय ४६ जना नेपालीको शव चार्टर्ड उडानमार्फत स्वदेश ल्याइएको वैदेशिक रोजगार बोर्डले जनाएको छ ।
लकडाउन सुरु भएदेखि अहिलेसम्मको अवधिमा खाडी र मलेसियासहित अन्य देशमा १५ महिला र ४ सय ७९ पुरुष गरी ४ सय ९४ जना नेपालीको विभिन्न कारणले मृत्यु भएको थियो । अन्तर्राष्ट्रिय उडान बन्द भएर शव ल्याउन नपाएपछि कतिपय मृतकका आफन्तले भने परदेशमै सदगतका लागि अनुमति दिएका छन् ।
आफन्तको सहमतिमै १ सय ७२ जना नेपालीको गन्तव्य देशमै अन्त्येष्टि गरिएको बोर्डले जनाएको छ ।
अब खाडी र मलेसियासहित विभिन्न देशमा ७६ नेपालीको शव ल्याउन बाँकी छ । कोरोना सङ्क्रमण रोकथामका लागि सरकारले अन्तर्राष्ट्रिय उडान रोकेपछि विशेषगरी धेरै नेपाली कार्यरत खाडीका देश र मलेसियामा नेपालीको शव पनि रोकिएको थियो ।
गत जेठ ३२ गतेदेखि सरकारले लकडाउनकै बीचमा विभिन्न देशमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि चार्टर्ड उडान पठाउन थालेपछि भने त्यही जहाजमा नेपालीका शव पनि ल्याउने गरिएको हो ।
