Friday, May 22News That Matters

खोटाङमा कम्पोष्ट मल र बायोग्यास प्लान्ट निर्माण

पूर्णपुष्टि, भदौ २४

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा कम्पोष्ट मल र बायोग्यास प्लान्ट निर्माण भएको छ ।
अर्गानिक नगर बनाउने अभियान अन्तर्गत अर्थमन्त्रालयको विशेष अनुदानमा नगरपालिकाले कम्पोष्ट मल र बायोग्यास प्लान्ट निर्माण गरेको हो ।

अर्थमन्त्रालयको ३ करोड ३२ लाख आर्थीक सहयोगमा ल्याब परीक्षण, जनशक्ति व्यवस्थापन बाहेक कम्पोष्ट मल तथा बायोग्यास प्लान्टको भौतिक संरचनाको काम सम्पन्न भएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले जनाएको छ ।

विशेषगरी दिक्तेलबजार, सोल्मा लगायतका ठाउँबाट निस्कने कुहिने, सड्ने र मक्किने वस्तुलाई प्रशोधन गरेर कम्पोष्ट मल उत्पादन गर्ने तथा मानव मलमुत्रबाट वायोग्याँस उत्पादन गर्ने लक्ष्यकासाथ सोल्मामा कम्पोष्ट मल र बायोग्यास प्लान्ट निर्माणको काम अघि बढाइएको जनाएको छ ।

वरपर पाइने स्याउला, पत्कर, गोबर तथा बजारमा पाइने कुहिने सामग्री संकलन गरेर प्रशोधन गर्दै प्रति घण्टा एक हजार किलो कम्पोष्ट मल उत्पादन गर्न सकिने नगरले जनाएको छ ।

उत्पादन भएको मललाई नगरपालिकाकै अगुवाईमा डिलरमार्फत बिक्री वितरण गर्ने व्यवस्था मिलाइने जनाइएको छ । त्यस्तै बायोग्यास प्लान्टमा मानव मलमुत्र तथा गोबर हालेर ग्याँस उत्पादनको तयारी गरिएको छ ।

३ हजार ५ सय घनमिटर क्षमताको अण्डरग्राउण्ड ड्रम (ट्यांकी)मा कच्चा पदार्थ हालेर गोबरग्याँस उत्पादन गर्ने र त्यसलाई सीएनजी ग्यासमा परिवर्तन गरेर एलपी ग्यासकै रुपमा सिलिण्डर भर्न मिल्ने नगरपालिकाले जनाएको छ ।