
पूर्णपुष्टि,जेष्ठ १४ । मानव अधिकार तथा शान्ति समाजले १६औं गणतन्त्र दिवसको पूर्वसन्ध्यामा सिंहदरबारको दक्षिण ढोकामा आयोजना गरिएको धर्नाबाट १७ जना अधिकारकर्मीहरुलाई प्रहरीले पक्राउ गरेको छ । मानव अधिकार तथा शान्ति समाजका अनुसार समाजका संस्थापक सभापति कृष्ण पहाडीसहित नागरिक अगुवाहरू अर्जुन पराजुली लगाएतका अधिकारकर्मीहरु पक्राउ भएको जनाएको छ ।
प्रहरीका अनुसार उत्तम पुडासैनी, विमल अर्याल, अधिकारकर्मीहरू चन्द्रमणी बञ्जारा, नम्रता खरेल, किरण ढकाल, दिवाकर पुडासैनी, बलबहादुर गाहा मगर, उमा गौतम, भगवान पुडासैनी, ईश्वर पुडासैनी, जयराम पुडासैनी, विकास थापा, रमेशकुमार बराल, चन्द्रमणी गौतम, रिता अधिकारीसहित १७ जनालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरूलाई भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा राखिएको छ ।
शीर्ष नेताहरू भ्रष्ट भएकोले लोकतन्त्र खतरामा परेको आरोप लगाउँदै समाजले नक्कली भुटानी शरणार्थी प्रकरणका मूल दोषीहरूलाई कारबाही गर्नु पर्ने, तीन तहको सरकारले सुशासन, पारदर्शीता र जवाफदेहीता सुनिश्चित गर्नु पर्ने, लोकतान्त्रिक गणतन्त्रको मूल्य अनुरूप आचरण गर्नु पर्ने माग राखेर धर्ना दिएको थियो ।
