Saturday, June 13News That Matters

गाइघाटकी एक महिलामा कोरोना पुष्टि, संक्रमितको घर र डेडसयमिटर आसपास सिल गरियो

पूर्णपुष्टि, असार ९ ।

उदयपुरको गाईघाटकी एक महिलामा आज कोरोना संक्रमण देखिएपछि घर आसपासमा सिल गरिएको छ । उपचारको लागि काठमाडौं पुगेकी ५४ वर्षिया महिलामा पिसिआर चेक गर्दा पोजेटिभ देखिए पछि गाइघाट स्थित घर र आसपासको क्षेत्रमा सिल गरिएको हो ।

गाईघाटको पुरानो पेट्रोल पम्प (एसके पेट्रोलपम्प) छेउमा रहेको संक्रमितको घर र घरदेखि १ सय ५० मिटर आसपासको क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले सिल गरेको हो । सिल गरिएको क्षेत्रलाई सुरक्षा घेराभित्र राखिने जिल्ला प्रहरी प्रमुख एसपी भिमबहादुर दाहालले बताउनुभयो । सुरक्षाभित्रको क्षेत्रमा कसैलाई प्रवेश गर्न र भित्रकालाई बाहिर निस्कन दिइदैन ।

गत जेठ ३० गते गाईघाटदेखि उपचारको लागि विराटनगर हुदै असार १ गते काठमाडौंको न्यूरो हस्पिटल पुगेको बुझिएको छ । उनी प्रेसरको विरामीका कारण उपचारका लागि गएको बुझिएको छ । आजभन्दा १२ दिन अघि गाइघाटबाट हिडेको देखिन्छ । उनलाई संक्रमण कहाँ भयो भन्ने बारे प्रष्ट हुन सकेको छैन । कोरोना पुष्टि भएपछि उनलाई काठमाडौं कोरोना हस्पिटल टिचिङ हस्पिटल लगिएको बुझिएको छ । महिलामा कोरोना पुष्टि भएसंगै गाइघाट बजारमा सन्त्रास फैलिएको छ ।

योसंगै उदयपुरमा संक्रमितको संख्या ५३ पुगेको छ । सबैभन्दा पहिले उदयपुरको त्रियुगा नगरपालिका अन्तर्गत भुल्केमा ३२ जना कोरोना संक्रमित भेटिएका थिए । पुस २ गते गाईघाटको शान्तिनगरटोलमा एक जनामा संक्रमण भेटिएको थियो । भुल्के र शान्तिटोलका सबै निको भएर फर्किसकेका छन् । भारतबाट आएकालाई मोतिगडा क्वारेन्टाइनमा राखेर परिक्षण गरिदा त्यहाँ ८ जनामा कोरोना पुष्टि देखिएको थियो । आज फेरी गाइघाटको पुरानो पेट्रोलपम्प छेउका महिलामा कोरोना संक्रमण देखिएको हो ।

जिल्लाको बेलका नगरपालिकामा ५ जना संक्रमित देखिएका छन् । उनीहरु सबै भारतबाट आइ क्वारेन्टानमा परिक्षण गर्दा पत्ता लागेका हुन् । उनीहरु मध्ये १ जना महिला निको भएर फर्किसकेकी छिन् । कटारी नगरपालिका र उदयपुरगढी गाउँपालिकामा दुई÷दुईजना भेटिएका छन् । उनीहरु पनि भारतबाटै आएकाहरु हुन् । ताप्ली गाउँपालिकाका १ जना संक्रमित पनि भारतबाटै आएका हुन् । चौदण्डीगढी नगरपालिकाका १ जना भने स्थानीय हुन् । वडा नं. ५ सिवाईका उनी निको भएर फर्किसकेका छन् ।

उदयपुर जिल्लामा गत जेठ ५ गतेबाट कोरोना संक्रमण फेला पर्न थालेको हो । सबैभन्दा पहिले त्रियुगा नगरपालिका ३ भुल्केमा जमाती समुहका १२ जनामा एकैचोटी संक्रमण पुष्टि भएको थियो ।

भुल्केमा फेला परेको संक्रमण तत्काल शिल गरेर नियन्त्रणमा लिइएको थियो । भुल्केमा १२ जनामा थपिदै २८ जनामा संक्रमण पुष्टि भएकोमा पछि पुन परिक्षण गर्दा थप ४ जना भेटिदा जम्मा ३२ जना संक्रमित भेटिएका हुन् । ती ३२ जना नै एउटै बस्तीका मुस्लिम समुदायका हुन् । त्यस समुदायभन्दा बाहिर गाइघाटमा एक सञ्चारकर्मी युवामा कोरोना संक्रमण देखिएको थियो । ताप्ली घर भएका उनी हाल निको भएर ताप्लीस्थित घरमै फर्किसकेका छन् । उनी गएको जेठ २ गते कोराना भएको पुष्टि भएका थिए । उनीपछि जिल्लामा कोरोना नियन्त्रणको अवस्थामा रहेको थियो । त्यसैबीचमा भारतबाट धमाधम  जिल्लाबासी आउन आउन थाले । सम्बन्धीत पालिकाले क्वारेन्टाइनमा राखेर परिक्षण गर्दा त्रियुगा बाहेकका अन्य पालिकाहरुका भारतबाट आएका नागरिकमा कोरोना देखिएको हो । उनीहरु क्वारेन्टाइनमै बसेको अवस्थामा पुष्टि भई कोरोना अस्पताल पठाइने गरेको थियो । यस हिसावले जिल्ला सुरक्षितकै अवस्थामा रहेको थियो ।

आज गाइघाटकी महिला उपचारको लागि काठमाडौं गएको अवस्थामा कोरोना पुष्टि भएको खबरले जिल्लाको अन्य समुदायमा पनि कोरोना फैलिसकेको होकी भन्ने आशंका पैदा गरेको छ । यद्यपी उनको कन्ट्राक ट्रेसिङ गरेर परिक्षण गरेपछि त्यसको रिपोर्टबाट अवस्था थाहा हुने सरकारी अधिकारीहरुको भनाई छ ।

ती महिला गाईघाटमै संक्रमित भएको हो वा उपचारको क्रममा जाँदा बाहिरतिर संक्रमण भएको हो भन्ने स्पष्ट भइनसकेको अवस्था छ । संक्रमितको घर र आसपासको क्षेत्र सिल गरिसकिएकोले सर्बसाधारणहरु अत्तालिनु जरुरी नरहेको सुरक्षाअधिकारीहरुको ुभनाई छ । तर, सचेत र सतर्कता अपनाउन भने जरुरी रहेको उनीहरुको भनाई छ ।

पछिल्लो समय लकडाउन खुकुलोको नाममा गाईघाट सामान्य अवस्थामा देखिएको छ । मानिसहरुको चहलपहल र भिडभाड अति बढि हुने गरेको छ । विद्युत कार्यालय, बैंकहरु, पसलहरुमा मानिसहरुले लापरवाहीपूर्ण ढंगले व्यवहार देखाइरहेको देखिएको छ । यसले कोरोनाको जोखिम बढेर गएको छ । त्यसप्रति सर्बसाधारण नागरिकहरु सचेत हुनुपर्ने देखिन्छ ।