Monday, June 22News That Matters

गाउँमै फैलिएको ज्वरोले दश जनाको मृत्यु, ४ जनामा संक्रमण पुष्टि

पूर्णपुष्टि, बैशाख २८

गाउँभरी फैलिएको ज्वरोले पर्शामा १० जनाको मृत्यु भएको छ । गाउँमा कोरोना सँग मिल्दो जुल्दो लक्षणका विरामीहरु धमाधम मर्न थालेका छन् ।

पालिकाका स्वास्थ्य शाखा प्रमुख प्रभेन्द्र प्रसाद साहका अनुसार वडा नं ५ तिलझप्टी टोलमा ज्वरो विरामी बढेका छन् । गाउँपालिकाले स्वाब संकलनका लागि समेत व्यवस्था गर्न नसकेकोले निरीह भएर बस्नु परेको उनी बताउँछन् ।

पर्साको जगरनाथपुर गाउँपालिका– ५ की २३ वर्षीया महिला टाइफाइडको उपचार गराइरहेकी थिइन् । आइतबार साँझ एक्कासी दम फुल्न शुरु भयो र उनको मृत्यु भयो ।

जगरनाथपुर गाउँपालिका वडा नं ५ यो घटना नौलो होइन, वैशाख १७ गतेदेखि २७ गतेसम्म गाउँपालिकामा यसरी ९ जनाको मृत्यु भइसकेको छ । जसमध्ये ४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

मृतक मध्ये ८ जना एकै टोलका बासिन्दा हुन् । जगरनाथपुर–५ तिलझप्टी र धर्मपुरमा एक सातामा स्वास प्रश्वासको समस्याकै कारण ८ जनाको मृत्यु स्वास्थ्य शाखा प्रमुख प्रमेन्द्र प्रसाद साहले जानकारी दिए ।

जगरनाथपुर गाउँपालिका– ५ मा वैशाख १७ गते ज्वरो र उल्टीको समस्या भएका ५५ वर्षीय राम बालक ठाकुर अहिरको मृत्यु भयो । २१ गते ७५ वर्षीय लक्ष्मी ठाकुर लोहारको मृत्यु भएको थियो । उनमा कोरोना संक्रमणसँग मिल्दोजुल्दो लक्षण थियो ।

त्यसपछि गाउँका मानिसहरुले धमाधम उस्तै खाले समस्या देखिन थाल्यो । कतिपयले वीरगञ्ज गएर कोरोना परीक्षण गराए, धेरैले गराएनन् । २२ गते वडा नं ५ की ६० वर्षीया महिला र ५६ वर्षीय पुरुष कोरोना संक्रमितको मृत्यु भयो ।

२५ वर्षीय दिनेश मुखिया विनको मृत्यु भएको थियो । उनमा कोरोनासँग मिल्दो जुल्दो लक्षण थियो, तर परीक्षण भने भएको थिएन ।

कोरोना संक्रमित ६० वर्षीया महिलाको २३ गते मृत्यु भयो । वैशाख २६ गते सोही वडाकी ७५ वर्षीय श्यामकान्त तिवारीको मृत्यु भयो । कोरोनासँग मिल्दोजुल्दो लक्षण भएपनि उनको परीक्षण भने गरिएको थिएन । सोमबार पनि त्यस्तै समस्या भएका २६ वर्षीया युवती र ६५ वर्षका बासुदेव राउत अहिरको मृत्यु भएको छ ।

समस्याबारे प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराएर आवश्यक तयारी थालेको स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य निरीक्षक जयमोद ठाकुरले बताए । उनले भने, ‘नारायणी अस्पतालसँग समन्वय गरेर चिकित्सक, ल्याबका प्राविधिकसहित टोली पठाउने तयारीमा छौं । स्वाब संकलन गर्न आवश्यक भीटीएमको जोहो गरिसकेका छौं ।’